काठमाडौं । सरकारले दूधको मूल्य वृद्धि गरेको छ । किसानले बिक्री गर्ने दूधको मूल्यमा ६ रुपैयाँ वृद्धि भएको हो ।
वृद्धि भएको मूल्य शनिबारदेखि लागू हुने प्रतिलिटर ६ रुपैयाँ बढेको दुग्ध विकास बोर्डले जनाएको छ । दूधको मूल्य वृद्धिबारे कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले प्रारम्भिक जानकारीअनुसार दूधको मूल्य बढेको जानकारी दिए ।
यसअघि दूधको मूल्य वृद्धि गर्न कृषि तथा पशुपन्छी मन्त्रालयले एक कार्यदल गठन गरेको थियो । उक्त कार्यदल कृषिमन्त्री चक्रपाणि खनाललाई प्रतिवेदनसमेत बुझाएको थियो ।
अहिले सामान्यतया दुधको प्रतिलिटर मूल्यमा ६ रुपैयाँ बढे पनि ७९ प्रतिशत प्रत्यक्षरुपमा दुग्ध किसानले पाउने र ३१ प्रतिशत डेरी तथा उद्योगले पाउनेछन् ।
प्रवक्ता सुवेदीले कृषि मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ बढाउन सिफारीस गरेको बताए । तर, दुग्ध विकास बोर्डले स्वीकृतिपछि कार्यान्वयनमा जाने बताए । मन्त्रालयले गरेको मूल्य वृद्धि सिफारिस समितिले बैठक बसेर मूल्य बढाएको बोर्डले जनाएको छ । यसअघि कृषिमन्त्री चक्रपाणि खनाल पनि दूधको मूल्यवृद्धि गर्ने पक्षमा थिए ।
गत साउन २९ गते दूधको मूल्य निर्धारण गर्न दुग्ध विकास बोर्डका अध्यक्ष बाबुकाजी पन्तको संयोजकत्वमा ८ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको थियो । कार्यदलले ६÷६ महिनामा दूध बढी उत्पादन हुने (लिन सिजन) र दूध उत्पादन कम हुने (ड्राईं सिजन)मा फरकफरक मूल्य तोक्न प्रस्ताव गरेको थियो ।
फ्याट र एसएनएसका आधारमा दूधको मूल्य निर्धारण गरिन्छ । औसतमा किसान अहिले ४० देखि ५० रुपैयाँ प्रतिलिटर दुधको मूल्य पाइरहेका छन् । बजारमा सबै बस्तुको मूल्य वृद्धि भएको गाईबस्तुको दाना, चोकर लगायतको उत्पादन लागत बढेको भन्दै दुग्ध किसान, दुग्ध उत्पादक सहकारी र डेरी उद्योगीले दूधको मूल्य वृद्धि गर्न दबाब दिँदै आएका थिए ।