काठमाडौं । डेढ महिनादेखि काठमाडौंको गोठाटारमा निजी आवास बनाइरहेका रामप्रसाद रेग्मीले १५ दिनदेखि आफ्नो घर निर्माण कार्यलाई रोकेका छन् । कारण निर्माण सामग्रीको मूल्य अचाक्ली बढ्नू हो ।
उनले तीन महिनामा सक्ने गरी घर निर्माण थालेका थिए । तर, अन्तर्राष्ट्रिय बजारमा कोइला, स्टिललगायतका सामग्रीको मूल्य तीव्र गतिमा बढेपछि त्यसको सीधा असर उनको घर निर्माणमै पर्यो ।
एक महिनाको बीचमा उनले प्रयोग गर्ने रडको मूल्य ३० प्रतिशत बढेको छ । इँटाको मूल्य पनि २० देखि ३० प्रतिशतले नै वृद्धि भएको छ । सिमेन्टको मूल्य पनि आकासिएकाले तत्कालका लागि घर निर्माण रोक्नु परेको उनले क्यापिटल नेपालले बताए ।
‘एउटा लागत स्टमेट गरेर घर निर्माण थालियो । तर, बीचकै लागत ३० देखि ४० प्रतिशतले बढ्ने भएपछि घर निर्माण कार्यलाई तत्काल रोक्नुपर्ने अवस्था आयो’ उनले भने, ‘साढे दुई तला घर बनाउनका लागि फिनिसिङ बाहेक ७० लाख रुपैयाँ लिएर बसेको थिएँ । औसतमा निर्माण सामग्रीको मूल्य ३० प्रतिशत बढेपछि घर निर्माण रोक्नुको कुनै विकल्प भएन ।’
रेग्मीले ९८ रुपैयाँ केजी रड हुँदा घर बनाउन सुरु गरेका थिए । उनको अनुमान थियो –रडको मूल्य बढिहाल्यो भने पनि केजीको १०५ रुपैयाँसम्म पुग्छ, त्यति मेरो बजेटले धान्छ । तर, यो बीचमा रडको मूल्य १३० रुपैयाँ केजी पुगिसकेको छ । त्यो भनेको झण्डै ३० प्रतिशत बढी हो ।
अन्तर्राष्ट्रिय बजारमा स्टिलको मूल्य प्रतिटन १ हजार डलर पुगेको छ । १२५ डलरमा पाइरहेको कोइलाको मूल्य यो बीचमा ४२० डलरसम्म पुग्यो । अहिले पनि ४०० डलर माथि छ । सिमेन्ट र इँटाको प्रमुख कच्चा पदार्थ कोइला हो ।
अहिले जुन गतिले कोइलाको मूल्य बढेको छ, त्यसका आधारमा हेर्दा सिमेन्टको मूल्य प्रतिबोरामै १३० रुपैयाँ बढाउनुपर्ने देखिएको सिमेन्ट उद्योगीहरु बताउँछन् । त्यसैगरी, इँटाको मूल्य पनि ३० प्रतिशतले बढिसकेको छ ।
निर्माण सामग्रीको मूल्य अप्रत्यासित रुपमा बढेपछि छिटफुट रुपमा बनेका निजी आवास रोकिएका छन् । जसले आर्थिक गतिविधिसमेत झन ठप्प हुने देखिएको छ ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार निजी आवास निर्माण गर्न लिएको ऋण पनि होल्ड गरेका छन् । बैंक तथा वित्तीय संस्थाले निजी आवास निर्माणका लागि ऋण स्वीकृत गरेका थिए । तर, अहिल्यै डिस्पर्समेन्ट नगर्न ऋणीहरुले बैंकलाई भनिरहेका एक बैंकरले बताए ।
निजी आवास निर्माणलाई बैंकले ऋण दिइरहेका थिए । तर, अन्तर्राष्ट्रिय बजारमा देखिएको आर्थिक तरंगबाट नेपाल पनि प्रत्यक्ष प्रभावित भएपछि निजी आवास निर्माण गर्न इच्छुक देखिएकाहरु पनि हच्किएको एक बैंकरले बताउँछन् ।
बैंकरका अनुसार नयाँ घर निर्माणका लागि बैंकहरुले झण्डै १ अर्ब रुपैयाँ ऋण स्वीकृत गराएका छन् । तर, ऋणीले तत्काल उक्त ऋण नलिने भन्दै बैंकलाई सूचना दिइरहेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा उत्पादन र ढुवानी लागत बढ्ने कारण अधिकांश वस्तुको मूल्य बढ्छ । पेट्रोलियम पदार्थ मात्रै होइन्, पछिल्ला महिनाहरुमा अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नदेखि, सुन र कोइलासम्मको मूल्य बढेको छ ।
पेट्रोलियम पदार्थपछि सवारी उच्च आयात हुने वस्तुको सूचीमा फलाम र यसका सामग्री, अन्नलगायतका वस्तु छन् । रुस–युक्रेन द्वन्द्वका कारण अमेरिकी डलरसँग नेपाली मुद्राको सटही दर खस्किएर नयाँ रेकर्ड बिन्दुमा पुगिसकेको छ ।