काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले निकोलस पाण्डेलाई ‘ग्रिनसिग्नल’ दिएका छन । महासंघका वरिष्ठ उपाध्यक्ष रहेका पाण्डेलाई नेपाली काँग्रेसका तर्फबाट आधिकारीक उम्मेद्धवारका रुपमा अघि बढाउने निर्णयमा प्रधानमन्त्री एवंम पार्टी सभापति देउवा पुगेको बालुवाटार स्रोतले बतायो ।
पाण्डेका बुबा विक्रम पाण्डे राप्रपाका वरिष्ठ उपाध्यक्ष हुन । निकोलस २०७७ सालदेखिनै काँग्रेसको क्रियाशील सदस्य रहेको कारणले पनि उनलाई पार्टीको आधिकारीक उम्मेद्धवार बनाउन देउवा राजी भएको स्रोतले बतायो ।
हुन त काँग्रेसकै तर्फबाट हालका अध्यक्ष रवि सिंहले पनि पुनः अध्यक्षमा उम्मेद्धवारी घोषणा गरिसकेका छन । सिंहले पनि आफु पार्टीको आधिकारीक उम्मेद्धवार रहेको दाबी गर्दै आएका छन । यस विषयमा पार्टीले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
पार्टीमा सिंह प्रकाशमान सिंह नजिक रहेकै कारण उनले आफु आधिकारीक उम्मेद्धवार हुने बताउदै आएका छन । तर, सिंहलाई अध्यक्षमा दोहोर्याउन नदिने पक्षमा पार्टी रहेका कारण पाण्डेलाई आधिकारीक उम्मेद्धवारको रुपमा अघि सार्न लागेको बताइएको छ ।
प्रधानमन्त्री देउवाले वरिष्ठ उपाध्यक्ष पाण्डेलाई अध्यक्षका लागि आधिकारीक उम्मेद्धवारको बचन दिइसकेको एक पूर्वअध्यक्षले जानकारी दिए । उनका अनुसार शनिबार विहान ८ बजे प्रधानमन्त्री देउवाले पूर्वअध्यक्षहरु ,पदाधिकारीहरुलाई बालुवाटारमा छलफलका लागि बोलाएका छन् । ‘शनिबार विहान बालुवाटार बोलाउनु भएको छ ,सायद पाण्डेलाई आधिकारीक उम्मेद्धवार भएको जानकारी दिन बोलाएको हुन सक्छ’ उनले भने ।
महासंघमा काँग्रेस निकट व्यवसायीहरुको हावी छ । १२ सय जना प्रतिनिधिहरु मध्ये‘ ६० प्रतिशत काँग्रेससँग समर्थित प्रतिनिधिहरु रहेको बताइन्छ । त्योसँगै महासंघको अध्यक्ष छान्नका लागि सुपरसेभेन (ठूला) निर्माण कम्पनीहरु हावी हुने गरेको छ ।
ती ठूला कम्पनीहरुले पनि अहिले अध्यक्षका रुपमा पाण्डेलाई नै समर्थन गर्ने तयारीमा रहेको बुझिएको छ । यसअघि पनि हालका अध्यक्ष सिंहलाई ती ठूला कम्पनीहरुले साथ दिएका थिए ।
वरिष्ठ उपाध्यक्ष पाण्डेलाई यसअघि राप्रपाको कार्यकर्ता भएको आरोप लाग्दै आइरहेको बेला शुक्रबार बिहानै सामाजिक सञ्जालमा ०७७ सालमा लिएको कृयाशील सदस्य सार्वजनिक गरेका थिए । २७ गतेबाट सुरु भएको महासंघको साधारणसभा नयाँ नेतृत्व चयन गरी २९ गते सकिदै छ ।