बनेपा । गाउँमा नै फलफूल र पन्छीपालन गरेर यहाँका युवाले राम्रो आम्दानी गर्दै आइरहेका छन् ।
काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौंदेउराली गाउँपालिका–७ का नमस्कार लामाले मादन गाउँमा पहिलोपटक ‘नमस्ते कृषि फार्म’ सञ्चालन गरी व्यावसायिक रूपमा पन्छी र फलफूलखेती सुरु गरेका हुन् । कृषि पेसामा राम्रो भविष्य देखेको कारण सहरमा गरिरहेको व्यवसाय छाडेर गाउँ फर्की कृषि फार्म सञ्चालन गरेको लामा बताउँछन् ।
यसअघि निर्माण व्यवसायमा सक्रिय लामा अहिले पन्छीपालन र फलफूल खेतीमा व्यस्त छन् । उनले गाउँमा विभिन्न जातका पन्छीदेखि त्यहीअनुसारको फलफूल खेती गरिरहेका छन् ।
एकल व्यवसाय सञ्चालन गर्दै आएका उनले कृषि क्षेत्रमा लगानी गरेअनुसार जोखिम मोल्न नपर्ने र मिहिनेतअनुसारको कमाइ हुने भएकाले गाउँ फर्केर कृषितर्फ केन्द्रित भएको बताए । अहिले उनी बिहानदेखि बेुलकासम्म आफ्नै कृषि फार्ममा व्यस्त हुन्छन् । फार्ममा लोकल कुखुरा, लौकाट, टर्की र कालिज छन् भने फलफूलमा बुद्धचित्त माला, कागती, एभोकाडो, अनार, आँप र अम्बा छन् ।
फलफूलका बिरुवा र पन्छीपालन गरी ३५ लाख रुपैयाँकाे लगानीमा सुरु गरेको व्यवसाय अब बजारको मागअनुसार बढाउँदै लैजाने उनले बताए । ७५ रोपनी आफ्नै जग्गा र त्यसबाहेक ३५ रोपनी जग्गा भाडामा लिएर ११० रोपनी जग्गामा सो व्यवसाय गरेका हुन् ।
'बजारमा जुन वस्तुको बढी माग हुन्छ, त्यही अनुसारले व्यवसायलाई थप वृद्धि गर्दै लैजान पनि यसरी मिश्रित रूपमा पालन गरेको हुँ', उनले भने, 'बजारमा जुन पन्छी बढी माग आउँछ, त्यहीअनुसार प्राथमिकतामा राखेर पालन गर्दैछु ।'
५ वर्षदेखि सुरु गरेको फलफूलमध्ये कागती, आँप र बुद्धचित्त मालाबाट यस वर्षदेखि आम्दानी लिन थालेको फार्म सञ्चालक लामाको भनाइ छ । सबै व्यवसायबाट मासिक ३० देखि ३५ हजार रुपैयाँ आम्दानी गरिरहेको र फलफूलको बोटबाट उत्पादन दिन थालेकाले अब राम्रो आम्दानी लिन पाउने अवस्थामा रहेको उनले बताए ।