दाङ । पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिलेका व्यस्त किसान हुन् । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीकिसानीमै व्यस्त छन् । नेपालमा ‘ड्रागन फल’ को व्यासावयिक खेती भित्र्याउनेमध्येका एक हुन्, विष्ट । हाल उनी तेस्रो चरणको ड्रागन फलको पर्खाइमा छन् । दाेस्राे चरणको ड्रागनको फल भित्र्याएर राम्रै आम्दानी लिइसकेका छन् ।
विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिएका छन् । मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको उनी बताउँछन् । विष्ट भन्छन्, ‘म खेतमा काम गरिरहेको अवस्थामा कसैले देखेमा, भेट्न बोलाइहाल्नुहुन्छ ।’
मन्त्री हुँदा जसरी मान्छे भेट्न आउँथे, अहिले खेती गर्दा पनि उत्तिकै भेट्न आउने गर्छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित घोराही–तुलसीपुर सडक छेउमा कुनै समय बाँझो रहेको जग्गालाई विष्टले हराभरा बनाइरहेका छन् । ड्राग्रन खेतीका लागि त्यो भूमि त्यत्ति उपयुक्त होइन, किनकि त्यसका लागि बलौटे माटो चाहिन्छ । यद्यपि पनि मेहेनत गर्दा भने त्यसले राम्रै आम्दानी दिनेरहेछ भन्ने एउटा उदाहरण विष्टले प्रस्तुत गरेका छन् ।
‘अहिले हामीले जति मेहेनत यो जग्गामा गरेका छौं, त्यति मेहेनत बलौटे माटोमा गरेको भए झनै धेरै आम्दानी गर्न सकिन्थ्यो’, उनले भने, ‘तर, यसमै पनि निकै मेहेनत हामीले ग¥यौँ, त्यसैले आम्दानी राम्रै दिने गरेको छ ।’
ड्रागन फल जेठदेखि असोज–कात्तिकसम्म फल्छ । यो प्रायः रातिमा फल्ने भएकाले पनि ‘रातकी रानी’ भनेर पनि नाम दिइएको छ । यो फल मात्रै होइन, बिरुवाबाट पनि विष्टले आम्दानी गर्दै आइरहेका छन् । अहिलेसम्म उनले दुईपटकमा गरी ४० लाख आम्दानी गरेको बताउँछन् ।
एक सिजनमा २८–३० क्विन्टल उत्पादन हुने गरेको छ । बिरुवाबाट त्यस्तै ५ लाख रुपैयाँ जति आम्दानी भएको उनी बताउँछन् । अहिले उनले उत्पादन गरेका बिरुवा दाङमात्रै होइन, अन्य जिल्लामा पनि उत्तिकै बिक्री हुन्छन् । फल्दै गरेको ड्रागन बेच्दै गर्दा भाइरल बनेका विष्टलाई उत्पादन भएको फल बेच्न त्यति कठिनाइ भएन । यस्तै बिरुवा बेच्न पनि सहज भयो ।
विष्टले यो खेती गरेपछि अरू धेरैले यस खेतीबारे चासो राखे । सबैले यो घरघरमै खेती गर्न चाहे । स्वास्थ्यका हिसाबले बहुउपयोगी मानिने यो फल सबैले घरमा लगाए । दुईपटक अधिक बिक्री भएको ड्रागन फलले तेस्रो पटकमा कत्तिको बजार पाउँछ, त्यो भने विष्टले पर्खिरहेका छन् । उनी भन्छन्, ‘बजार राम्रो छ । यहाँबाट काठमाडौंलगायत पनि पुग्ने गर्छ । बजारीकरणका लागि समस्या छैन ।’
करिब १ करोड लगानी गरेर विष्टसहित ३ जनाले व्यावसायिक ड्रागन खेती गरिरहेका छन् ।
राजनीतिबाट पूर्णरूपमा ‘रिटायर्ड’ भए पनि विष्टले राजनीतिक लत भने छाडेका छैनन् । उनी राजनीतिलाई नजिकबाट नियाल्छन् । ‘अर्थतन्त्र भनेको राजनीतिको जग हो । कृषि भनेको हाम्रो जग हो’, विष्ट भन्छन्, ‘जब हामी कृषिलाई परित्याग गरेर राजनीति गर्छौं, त्यो राजनीति नभएर लाजनीति हुन्छ ।’