झापा । दमकमा आगामी चैतदेखि फोहरबाट ग्यास र प्राङ्गरिक मल उत्पादन सुरु हुने भएको छ ।
फोहर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहरबाट एकैसाथ ग्यास र प्राङ्गरिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी दिए । उनका अनुसार फोहरबाट अब घरका भान्सामा प्रगोग हुने ग्यासदेखि खेतबारी र गमलामा प्रयोग हुने प्राङ्गरिक मलसमेत उत्पादन हुने भएको छ ।
कुहिने फोहर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फोहरबाट ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गरिक मल र झोल मल उत्पादन गरिने भएको दमक नगरपालिका सरसफाइ शाखाका प्रमुख दोर्ण थापाले बताए । यसका लागि दमक–३ स्थित हंसेदुम्से सामुदायिक वन क्षेत्रभित्र प्रशोधन केन्द्र स्थापना गरिएको छ । नगरको फोहर लगेर अजैविक अर्थात् प्लास्टिकयुक्त र जैविक तथा कुहिने वर्गको फोहर छुट्याइन्छ ।
यसरी छुट्याइएको फोहरमध्ये जैविक फोहरलाई ठूलो ट्याङ्कीमा हालेर १५ दिनसम्म कुहिन्छ । यसरी कुहिएको फोहरबाट मिथेन बायोग्यास उत्पादन हुने र उत्पादन भएको ग्यासलाई प्रशोधन गरी ग्यास पाइप अर्थात् सिलिन्डरमार्फत वितरण गरिने छ । बाँकी कुहिएको फोहरबाट प्राङ्गरिक मल उत्पादन गरिन्छ भने जमेको तरल पदार्थबाट झोल प्राङ्गरिक मल उत्पादन गरिने कम्पन्नीका प्रबन्धक निर्देशक खतिवडाले बताए ।
उनका अनुसार प्रशोधनका लागि २२ मिटर चौडाइ र ८ दशमलव ५ मिटर उचाइ भएको विशाल पक्की ट्याङ्की निर्माण भइरहेको छ । यहाँबाट दैनिक १ हजार ८४ किलोग्राम वायोग्यास उत्पादन गर्न सकिन्छ । यस्तै दैनिक १० हजार किलोग्राम प्राङ्गरिक मल तथा करिब ७ हजार ५०० लिटर झोल मल उत्पादन गर्न सकिने दमक नपाका फोहर व्यवस्थापन शाखाका प्रमुख थापाले जानकारी दिए ।
संरचना निर्माणमा कुल २० करोड ५८ लाख ९७ हजार रुपैयाँ लागत रहेको छ । यसमा लागत सहभागिता १४ करोड ७० लाख रुपैयाँ बढी नेक्स्ट इरा इनर्जी प्रालि/रोहन ट्रेर्डस प्रालि जेभीको र बाँकी ५ करोड ८ लाख बढी वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको रहेको जनाइएको छ ।
जेभीले विसं २०७७ माघ १० गते सम्झौता गरेको थियो । दमक क्षेत्रमा दैनिकजसो २० टन फोहर उत्पादन हुने गरेको छ भने १५ टन फोहर संकलन हुँदै आएको छ । जसमध्ये दमक क्षेत्रमा ६६ दशमलव ५२ प्रतिशत जैविक फोहर रहने गरेको छ । कागज तथा कागजजन्य छ दशमलव ५५ प्रतिशत, प्लास्टिक तथा प्लास्टिकजन्य ५ दशमलव ३७ प्रतिशत फोहर निस्किने गरेको छ ।