काठमाडौ । चिनियाँ लगानीमा स्थापना भएको हुवासिन सिमेन्ट नारायणी उद्योगले उत्पादन थाले पनि गुणस्तर परीक्षण गर्ने उपकरण छैन । ‘रेडियो एक्टिभ मेटरियल यूज रेगुलेसन’ नहुँदा मुख्य स्रोत न्युट्रन स्रोर्स आयात गर्न नसकेपछि परीक्षण हुन नसकेको जानकारी उद्योगले गराएको छ ।
लगानी बोर्डले सिमेन्टको गुणस्तर परीक्षणका लागि चाहिने रेडियोएक्टिभ मेटरियल आयातका लागि सहजीकरण गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्राललाई सिफारिस गर्ने भएको छ । उद्योगले पुस २४ गते शनिबार परीक्षण सिमेन्ट उत्पादन सम्पन्न गरेको छ ।
गुणस्तर परीक्षण नभई सिमेन्ट बजारमा बिक्री वितरण गर्न पाइन्दैन । त्यसैले गर्दा उत्पादन गरेर बजारमा पठाउन समस्या भएको ह्वासिनले बोर्डलाइ जानकारी गराएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले बताए । सिमेन्ट उत्पादनका लागि आवश्यक पूर्वाधार बनाउन ह्वासिनले १५ अर्ब रुपैयाँ लगानी गरेको छ । उद्योगले दैनिक ३ हजार टन सिमेन्ट र क्लिन्कर उत्पादन गर्छ ।
उद्योगले भर्टिकल रोलर मिल (भिआरएम) प्लान्टबाट सिमेन्ट उत्पादन गर्ने भएको छ । भिआरएम सिमेन्ट उत्पादन गर्ने अत्याधुनिक प्रविधि हो । यस्तै वेस्ट हिट रिकभरीबाट करिब पाँच मेगावाट बिजुली उत्पादन हुनेछ ।
नेपाल विद्युत प्राधिकरणले उद्योगलाई २० मेगावाट बिजुली मस्र्याङ्दी–काठमाडौँ १३२ केभी प्रसारण लाइनबाट उपलब्ध गराइसकेको छ । विसं २०७४ मङ्सिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन गर्न अनुमति दिएको थियो ।
खानीका लागि चिनियाँ प्रवद्र्धकले ६० करोड रुपैयाँ लगानी गरेको थियो । बोर्डका अनुसार २०७२ पुस ५ गते वैदेशिक लगानी भित्र्याउन सरकारले स्वीकृति दिएको थियो ।
बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच २०७५ असार ६ गते उद्योग स्थापनाका लागि सम्झौतापत्रमा चीनको राजधानी बेइजिङमा हस्ताक्षर भएको थियो ।