काठमाडौं । लक्ष्मी ग्रुपले प्रवद्र्धन गरेको सिद्धिलक्ष्मी स्टिल प्राइभेट लिमिटेडको कारोबार ३ गुणा बढेको छ । उद्योगले सन् २०२१ मा डण्डी बिक्री गरेर ३ अर्ब ६३ करोड १६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
अघिल्लो वर्ष सन् २०२० मा कम्पनीले १ अर्ब २५ करोड ५९ लाख रुपैयाँ बराबरको टीएमटी स्टिल बार बिक्री गरेको थियो । अघिल्लो वर्षको तुलनामा उद्योगको आम्दानी २ अर्ब ३७ करोड रुपैयाँ बढेको छ । कुल आम्दानीमा ९९ प्रतिशत योगदान टीएमटी बारको छ । ९० प्रतिशत आम्दानी टीएमटीबाट गर्ने अनुमान कम्पनीको छ ।
लक्ष्मी ग्रुपले सन् २०१७ मा स्थापना गरेको सिद्धिलक्ष्मीले सन् २०१९ अक्टुबरदेखि व्यवसायिक रुपमा समृद्धि स्टिल ब्राण्डमा डण्डी उत्पादन थालेको हो । कम्पनीले भारतबाट बिलेट आयात गरेर नेपालमा डण्डी उत्पादन गर्दै आएको छ । उद्योगको क्षमता वार्षिक २ लाख टन रहेको छ ।
टीएमटीको आन्तरिक माग धान्ने लक्ष्य उद्योगको छ । सञ्चालनको दोस्रो वर्षमा उद्योगले कारोबार बढाउन सफल भएको छ । नेपाल–भारतको सीमानामा उद्योग भएकाले स्थानका दृष्टिले उद्योगलाई बढी लाभ हुने ठहर रेटिङ एजेन्सी इक्रा नेपालको छ । कारखाना नबलपरासीको रामग्राम नगरपालिकामा छ ।
कम्पनीले उत्पादनमा विविधिकरण गर्ने भएको छ । सिद्धिलक्ष्मीले टीएमटी स्टिलबारको बजार बढाएपछि वायर रड उत्पादनको लक्ष्य लिएको छ । जसअनुसार कम्पनीले लगानी बढाउने भएको छ ।
उद्योगले इक्रा नेपालबाट इक्राएनपी एलबी प्लस ग्रेड पाएको छ । कम्पनीले उद्योगको क्षमता विस्तारका लागि कम्पनीले अल्पकालिन र दीर्घकालिन ऋण लिनको लागि इक्राबाट शाख निर्धारण गरेको हो ।
उसले ३ अर्ब ३८ करोड ५० लाख रुपैयाँसम्म ऋण लिन शाख निर्धारण गरेको हो । उद्योगले दीर्घकालका लागि १ अर्ब २३ करोड २५ लाख र अल्पकाललाई २ अर्ब १५ करोड रुपैयाँ बैंकबा ऋण लिन लागेको छ । पोखरामा रहेको लक्ष्मी ग्रुपको डेरी, अटोमोवाइल, चकलेट, प्लाष्टिक र प्याकेजिङलगायतका वस्तुहरु उत्पादन गर्दै आएको छ ।