काठमाडौं । निर्माण व्यवसायी महासंघको निर्वाचन मिति नजिकिएसँगै नेतृत्व आफ्नो पक्षमा लिन व्यवसायीहरुबीच दौडधुप सुरु भएको छ ।
अध्यक्ष पदका लागि हालका अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे खुलेरै प्रचारप्रसारमा लागिसकेका छन् । सिंह कार्यकाल दोहोर्याउने रणनीतिका साथ अघि बढेका छन् भने पाण्डे यसैपटक अध्यक्ष बन्ने दौडमा छन् ।
एउटै समितिमा रहँदासमेत अध्यक्ष सिंहको नेतृत्वले सोचेको जस्तो काम गर्न नसकेको भन्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले सर्वसम्मत रुपमा नेतृत्व आफूलाई दिन लबिङ गर्दै आएका छन् ।
यता सिंहले पनि कोभिडका कारण चाहेको जस्तो काम गर्न नसकेको भन्दै एकपटक अध्यक्ष छोडिदिन अनुरोध गर्दै आएका छन् । यद्यपि उनीहरुबीच अध्यक्षका लागि सहमति हुने सम्भावना न्यून हुँदै गएको विश्लेषण व्यवसायीहरुबीच नै हुन थालेको छ ।
यसअघिको निर्वाचनमा सिंह र पाण्डे एउटै प्यानलबाट निर्वाचित भएका थिए । तर, अहिले भने उनीहरुबीच चुनावी टकराव सुरु भएको छ । महासंघमा आयोजित पत्रकार सम्मेलनमा सिंहले एकपटक नेतृत्व आफूलाई छाड्न आग्रह गरेका थिए भने पाण्डेले आफूलाई सर्वसम्मत अध्यक्ष बनाउन आग्रह गरे ।
हालसम्म यस विषयमा कुनै सहमति भने हुन सकेको छैन । अहिले सिंह र पाण्डे एकअर्कालाई रोक्नतर्फ लागेका छन् ।
पूर्वअध्यक्ष रमेश शर्माको इन्ट्री
महासंघको अध्यक्षका लागि सर्वसम्मत अध्यक्ष चयनका लागि पूर्वण्अध्यक्ष रमेश शर्मालाई अघि सारेका छन् । नेतृत्व छनौटका लागि ठूला कम्पनीहरुको हाबी हुने महासंघमा सर्वसम्मत गराउन शर्मालाई विकल्पको रुपमा अघि सारेका हुन् । शर्माले पनि सिंह र पाण्डेबीच सहमति नभए आफू पुनः अध्यक्ष हुने चाहना राखेका छन् ।
हालका अध्यक्ष सिंहसँग ठूला निर्माण कम्पनीहरु बिच्किएका छन् । अध्यक्षमा निर्वाचित भएदेखि नै ठूला निर्माण कम्पनीहरुको खेदो खन्दै आएका सिंहलाई यसपटक अध्यक्षबाट रोक्ने रणनीतिअनुसार नै शर्मालाई अघि सारिएको बताइन्छ ।
साना कम्पनीहरुको पक्षमा वकालत गरेको र ठूला कम्पनीहरुलाई बेवास्ता गरेको आरोप सिंहमाथि लाग्दै आइरहेको छ । यता पाण्डे पूर्णरुपमा परिपक्व नभएको विश्लेषण ठूला व्यवसायीहरुको छ ।
त्यसो त यसअघि सिंहलाई अध्यक्ष बनाउन पाण्डेको कम्पनी कालिका कन्ट्रक्सनले पनि साथ दिएको थियो । तर, यसपटक भने पाण्डेलाई सहयोग गर्ने÷नगर्ने विषयमा व्यवसायीहरुबीच मत बाझिँदै आएको छ ।
सिंहलाई नदिने र पाण्डेलाई पूर्णरुपमा विश्वास नगर्ने भएकैले शर्मालाई अघि सारेको दाबी एक व्यवसायीको छ । यसअघि महासंघ अध्यक्ष रहँदा पनि शर्माले राम्रो काम गरेकाले उनलाई विकल्पको रुपमा हेरिएको हुन सक्ने ती व्यवसायीको भनाइ छ । यद्यपि यस विषयमा औपचारिक कुनै निर्णय भने भइसकेको छैन ।
कसलाई कुन दलको समर्थन ?
महासंघको निर्वाचन नजिकिएसँगै आफ्नो पक्षमा माहौल बनाइदिन उम्मेदवारहरु राजनीतिक दलका नेताहरुको घरदैलो गर्न थालेका छन् । नेपाली कांग्रेसको समर्थन पाएका अध्यक्ष सिंह यसपटक पनि आफ्नो पक्षमा माहौल बनाउन नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।
कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका सिंह केन्द्रीय सदस्यमा पराजित भएका थिए । पार्टीभित्र प्रकाशमान सिंहनिकट रहेका सिंहले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पक्षमा ह्विप जारी गर्न लबिङ गर्दै आएका छन् ।
प्रकाशमानमार्फत आफ्नो पक्षमा ह्विप जारी भए जित्ने दाबी उनको छ । तर, कांग्रेसभित्रै उनलाई यसपटक अध्यक्ष बनाउन नसक्ने भन्दै अर्को एक पक्षले लबिङ गरिरहेको बुझिएको छ । केन्द्रीय सदस्य एवं पूर्वअध्यक्ष जिपछिरिङ लामा, केन्द्रीय सदस्य मोहन आचार्यसहितका नेताहरु भने सिंहलाई सहयोग नगर्ने र शर्मालाई नै सर्वसम्मत रुपमा अध्यक्ष बनाउनेतर्फ छलफल अघि बढाएका छन् ।
अर्का उम्मेदवार पाण्डे पूर्वमन्त्री एवम राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेका छोरा हुन् । उनलाई राप्रपासहित नेकपा एमालेनिकट व्यवसायीहरुले सहयोग गर्ने वचन दिइएको बताइन्छ । पाण्डे आफ्ना बुवाको माध्यमबाट राजनीतिक दलहरुको सहमतिका लागि शीर्ष नेतृत्वहरुसँग लबिङ गर्दै आएका छन् । यसबाहेक ठूला कम्पनीहरुबीच पनि पाण्डेलाई नै अध्यक्ष बनाउनुपर्ने भन्दै छलफल चलिरहेको छ ।
तर, अन्तिममा पार्टीले ह्विप जारी गरेमा के गर्ने भन्ने अन्यौलमा व्यवसायीहरु छन् । महासंघका ६० प्रतिशत सदस्य कांग्रेसनिकट छन् । त्यसैले पार्टीले निर्णय गरेमा त्यहीअनुसार अघि बढ्नुपर्ने भएकाले अहिले नै के हुन्छ र कसलाई भोट दिने भन्ने निर्णय भइनसकेको कांग्रेसनिकट एक व्यवसायीले बताए ।
युवाहरुको चाहना पाण्डे
महासंघमा रहेका युवा व्यवसायीहरुले भने अध्यक्षको रुपमा पाण्डेलाई नै ल्याउनुपर्ने धारणा राख्दै आएका छन् । युवाहरुको जोस–जाँगरलाई पहिलो पुस्ताले रोक्न नहुने भन्दै यसपटक पाण्डेको पक्षमा मतदान गर्नुपर्ने धारणा राख्न थालेका छन् । नयाँ सोच, जागरका साथ महासंघलाई अघि बढाउने दृढता पाण्डेसँग भएकोले उनलाई रोक्न नहुने धारणा ती युवाहरुको छ । तर, उनीहरुले मताधिकार पाउने÷नपाउने यकिन भइसकेको छैन । अहिले पनि कतिपय जिल्लाले प्रतिनिधि छनौट गरिसकेका छैनन् ।
च्याँखे थाप्दै अन्य उम्मेदवार
अध्यक्ष पदका लागि रामशरण देउजा र हुमनाथ कोइरालासहितले पनि उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरे पनि निर्वाचन भएको खण्डमा प्रमुख प्रतिस्पर्धीका रुपमा सिंह र पाण्डेलाई नै लिइएको छ ।
निर्वाचनका बेला च्याँखे थाप्न व्यवसायीहरुले उम्मेदवारी घोषणा गर्ने गरेको आरोप लाग्दै आएको छ । उम्मेदवारी घोषणा गरेपछि बार्गेनिङ गर्न सहज हुने भएकाले पनि घोषणा भएकाहरुमध्ये कतिले निर्वाचनसम्म फिर्ता लिने गरेका छन् ।
कसैको समर्थन वा बार्गेनिङका लागि पनि घोषणा भएका उम्मेदवारहरुलाई प्रयोग गर्ने गरेको यसअघिका निर्वाचनबाट पनि देखिएकाले यसलाई च्याँखेको रुपमा विश्लेषण गरिँदै आएको छ ।