काठमाडौं। साताको अन्तिम कारोबार दिन धितोपत्र बजारमा दोहोरो अंकले बढोत्तरी देखिएको छ। सेयर बजारले फराकिलो छलांङ्ग लिँदा नेप्से परिसूचक ५२.२१ अंकले बढेर २५६६.७९ को बिन्दुमा पुगेको छ। २५०० को मनोवैज्ञानिक बिन्दुलाई पछिल्ला केही दिनदेखि बारम्बार परीक्षण गरिरहेको परिसूचक त्यही बिन्दु नजिकबाट माथि उक्लिएको छ ।
बजारले सुधारका संकेत दिएपश्चात कारोबारी पनि हौसिएका छन्। बिहीबार यो साताकै सर्वाधिक कारोबार भएको छ। दिनभर २ अर्ब ७९ करोड १८ लाख रुपैयाँ बराबरका ५६ लाख १० हजार ६६३ कित्ता सेयर ४३ हजार ५३८ पटक खरिद बिक्री भएका छन्।
कारोबारका आधारमा आज अपी पावर शीर्षस्थानमा रह्यो। अपि पावरको १६ करोड ६५ लाख रुपैयाँबराबरको सेयर कारोबार हुँदा कम्पनीको मूल्य ५.७७ प्रतिशत उकालो लागेको छ। सर्वाधिक कारोबार भएको अर्को कम्पनी नेपाल दूरसञ्चार हो। बिहीबार दूरसञ्चारको १३ करोड १२ लाख रुपैयाँ कारोबार भएको छ।
एनआइसी एशिया बैंक पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीअन्तर्गत परेको छ। यस दिन बैंकको १२ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भयो। अरुण भ्याली हाइड्रोको ११ करोड ८६ लाख रुपैयाँको कारोबार हुँदा हिमालयन डिष्टिलरीको पनि ९ करोड रुपैयाँको कारोबार भएको छ।
परिसूचक दोहोरो अंकले वृद्धि हुँदा कारोबार भएका अधिकांश उपसूचक पनि उकालो लागेका छन्। बिहीबार सर्वाधिक वृद्धि वित्त उपसमूहमा देखिएको छ। उपसमूह ५.०६ प्रतिशत बढ्यो। विकास बैंक, जलविद्युत र लगानी उपसमूह पनि ४ प्रतिशत अधिक उकालो लागे। २ प्रतिशत अधिक बढेका व्यापार, निर्जीवन बिमा, उत्पादन तथा प्रसोधन, लघुवित्त र जीवन बिमा उपसमूहहरु पनि हुन्।
बिहीबार सबैभन्दा कम बढेको वाणिज्य बैंक उपसमूह हो। उपसमूहमा मात्र एक प्रतिशतको बढोत्तरी देखियो। परिसूचकविपरीत अन्य उपसमूह भने आज ०.०४ प्रतिशत घटेको छ ।
सेयर बजारमा आज इमर्जिङ्ग नेपालका लगानीकर्ताले सर्वाधिक कमाए। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.९८ प्रतिशत उक्लिएको छ। कर्णाली डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर्स, प्रग्रेसिभ फाइनान्स, ज्योति विकास बैंक र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले पनि ८ प्रतिशत अधिक कमाएका छन्।
माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन्। कम्पनीको मूल्य ३.०८ प्रतिशत घटेको छ। नेपाल दूरसञ्चारका लगानीकर्ताले पनि आज २.०२ प्रतिशत गुमाएका छन्।