काठमाडाैं । ग्लोबल आईएमई बैंक र आईसीएफसी फाइनान्सबीच ग्राहकहरुलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायब महाप्रबन्धक कल्याण विक्रम पाण्डे र आईसीएफसी फाइनान्सका तर्फबाट नायब महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार आईसीएफसी फाइनान्सका ग्राहकले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीतपत्र (लेटर अफ क्रेडि) बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा आईसीएफसी फाइनान्सको सिफारिसमा ग्लोबल आइएमई बैंकमार्फत उपभोग गर्न सक्नेछन् ।
साथै, दुवै संस्थाको सहमतीमा दुई संस्थाबीच निक्षेप संकलन, रेमिट्यान्स, अन्तर बैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनान्सिङ र एफएक्स म्यानेजमेन्ट लगायतका सेवाहरुमा सहकार्य हुनेछ ।
यो सम्झौता हस्ताक्षर भएको मितिबाट लागू हुने जनाइएको छ ।
ग्लोबल आईएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।
त्यसै गरी ‘ग’ वर्गको वित्तीय संस्था आईसीएफसी फाइनान्सले मुलुकभर २० शाखा, १८ एटीएम र १ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।