काठमाडौं । दक्षिण कोरियाको मोट्रेक्स मोटर कम्पनी लिमिटेडले उद्योग स्थापनाका लागि जग्गा अझै पाउन सकेको छैन । लगानी बोर्डले मोटर उत्पादनका लागि प्लान्ट राख्न मोट्रेक्सलाई जग्गा खोजिरहेको छ ।
विशेष आर्थिक क्षेत्र (सेज) मा जान निर्यातमा आधारित उद्योग हुनुपर्ने मापदण्डले असर गरेकोले उद्योगलाई जग्गा पाउन समस्या भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले बताए । उनले बोर्डमार्फत आउने उद्योग स्थापनाका लागि सहजीकरणा गर्न विशेष नीतिगत आवश्यक भएको जानकारी दिए ।
मोट्रेक्सलाई उद्योग स्थापनाका लागि बुटवल औद्योगिक क्षेत्रभित्र रहेको बुटवल धागो कारखानाको जग्गा दिन उपयुक्त देखिएको अध्ययनले देखाएको थियो । उद्योगमा रहेका पुराना मेसिन प्रतिस्थापनलगायत धेरै झन्झटिलो भएको कारण दिन नसक्ने सरकारले जवाफ दिएको सीईओ भट्टले बताए ।
अहिले मोतिपुर औद्योगिक क्षेत्रमा उद्योग राख्ने विषयमा छलफल भइरहेको छ । मोटर कारखाना कहाँ राख्ने भन्ने विषयमा अझै स्पष्ट नभएको उनको भनाइ छ ।
मोट्रेक्सले मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कका साथै अन्य कर छुट सुविधाहरू मागेको छ । कर छुट दिएमा आउन सहज हुने उसले बताउँदै आएको छ ।
मोटर प्लान्ट स्थापना गर्न २०७६ मंसिरमा मोट्रेक्स र लगानी बोर्डबीच सम्झौता भएको थियाे । मोट्रेक्सले २०७६ सालमै नेपालमा गाडी उत्पादनको लागि आवेदन दिएको थियो । लगानी बोर्ड ४६ औं बैठकले उसलाई मोटर उत्पादनको प्लान्ट राख्न दिने र १० अर्ब रुपैयाँ लगानी स्वीकृति गरेको थियो ।
बोर्डका अनुसार सो कम्पनीले नेपालमा न्यूनतम १५ अर्ब रुपैयाँसम्म लगानी गर्ने बताइएको छ । कम्पनीले नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने छ । हाल बोर्ड र मोट्रेक्सबीच वार्ता चलिरहेको छ । केही महिनाभित्र छलफल टुंगिने बोर्डका सहप्रवक्ता रमेश अधिकारीले बताए ।
उद्योग विभागका अनुसार यसअघि नै २२ उद्योग एसेम्बलिङ प्लान्ट राख्नका लागि दर्ता भइसकेकामा राज्यले उचित संरक्षण र प्रवर्धन गर्न नसक्दा कतिपय सुरु नै नभई बन्द भएका छन् । प्रतिस्थापन विधेयकमा अर्थमन्त्री जनार्दन शर्माले एसेम्बल उद्योगलाई अन्तःशुल्कमा छुटको व्यवस्था गरेपछि उद्योगीहरू थप उत्साहित बनेका छन् ।
मोट्रेक्सको आगमनसँगै नेपालमै एसेम्बलिङ प्लान्ट स्थापना गर्न स्वदेशी र विदेशी कम्पनीहरूले चासो देखाउन थालेका थिए । स्वदेशी उद्योगको चासो बढ्दै गएपछि मन्त्रालयले यसको सम्भावनाको अध्ययन अघि बढाएको थियो ।
यसअघि गोल्छा समूहको हुलास मोटर्सले ‘मुस्ताङ’ ब्रान्डमा नेपालमै गाडी एसेम्बलिङ गरेको थियो । सरकारी नीति सहयोगी नभएको बताउँदै हाल सो उद्योग बन्द भइसकेको छ ।