काठमाडौं । गत वर्षको सोही अवधिको तुलनामा चालू वर्षको सोही अवधिमा तारे होटलको अकुपेन्सी १५ देखि २० प्रतिशतसम्म घटेको छ । गत वर्षको अगष्टमा ६२ प्रतिशत अकुपेन्सी भएकोमा यो वर्षको सोही अवधिमा ४७ प्रशितमा खुम्चिएको छ ।
‘लो’ सिजन भनिएको समयमै गत वर्ष अगष्टमा नेपालका तारे होटलको अकुपेन्सी ६२ देखि ७० प्रतिशतसम्म थियो, तर अहिले ४५ देखि ४७ प्रतिशत मात्रै अकुपेन्सी छ,’ काठमाडौं म्यारियट तथा फेयरफिल्ड म्यारियटका सञ्चालक शशिकान्त अग्रवाल भन्छन्, ‘अहिले गत वर्षको तुलनामा ज्यादै कम अकुपेन्सी भएको छ ।’
ठमेलस्थित म्यारियट होटलमा अहिले ४० देखि ५० प्रतिशत मात्रै अकुपेन्सी छ । गत वर्ष यही समयमा ७० देखि ७५ प्रतिशत अकुपेन्सी रहेको थियो । जुन, जुलाइ अगस्त तीन ओटै महिनामा अकुपेन्सी गत वर्षको तुलनामा कम देखिएको छ ।
साग्रिला होटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण पाण्डेका अनुसार गत वर्षको सोही अवधिको तुलनामा अहिले होटलको अकुपेन्सी घटेको छ । साँग्रिलामै गतवर्ष गत वर्षको अगष्टमा ६० देखि ७० प्रतिशत अकुपेन्सी भएकोमा यो वर्षको अगष्टमा ५० देखि ६० प्रतिशत मात्रै भएको पाण्डेले क्यापिटल नेपाललाई जानकारी दिए ।
अहिले तारे होटल, याक एन्ड यति, ¥याडिसन, ह्यात, सोल्टी, अन्नपूर्ण, साँग्रिलालगायतका होटलको अकुपेन्सी घटेको छ । होटल एसोसिएसन अफ नेपालका उपाध्यक्ष विनायक साहले गत वर्षको सोही अवधिको तुलनामा अहिलेको सोही अवधिमा अकुपेन्सी थोरै घटेको स्वीकार गरेका छन् । ‘गत वर्ष यो समयमा ६० देखि ७० प्रतिशत औसत अकुपेन्सी थियो,’ उनले भने, ‘अहिले केही कम छ ।’
व्यवसायीका अनुसार पर्यटकको ‘फ्लो’ नबढेकाले नाम पाँच तारे होटलले १२० डलर पर्ने कोठालाई ६० डलरमा समेत उपलब्ध गराउन थालेका छन् । विदेशबाट आएका पाहुँनलाई कसको होटलमा राख्ने भरेर रुमको मूल्य घटाघटमै व्यवसायी उत्रिएका एक होटल व्यवसायीले बताए ।
‘पर्यटकको सङ्ख्या बढेको छैन्, जति आएका छन्, ती पनि बाँडिएका छन्,’ एक होटल व्यवसायीले भने, ‘रुम खाली नराख्ने नीति लिएर व्यवसायीले मोल घटाघटमा रुम दिएका हुन् ।’
एकातिर होटल नयाँ होटलहरु धमाधम निर्माण भइरहेको र केही नयाँ होटल भरखरै सञ्चालनमा आएको अवस्थमा नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि नभएपछि ठूलो मात्रामा लगानी जोखिममा जाने सम्भावना बढेको व्यवसायी बढाउँछन ।
नयाँ नयाँ होटल थपिएको, विदेशबाट आउने पाहुँनाको सङ्ख्यामा कमी आएको र जति आएका छन्, ती पनि होमस्टे र सस्तो होटलमा बस्ने गरेकाले तारे होटलको अकुपेन्सी घटेको हानको बुझाइ छ ।