काठमाडौं । पाँच वर्षअघि ललितपुरमा बेनेली बाइकको डिलरसिप सञ्चालन गर्दै आएको युनिटी ट्रेडिङ कन्सर्न प्रालीको ‘पोर्टफोलियो’मा प्रसिद्ध ईभी कम्पनीको प्रोडक्ट थप भएको छ ।
कम्पनीले बेनेली बाइकको डिलरसिपलाई छोडेर विद्युतीय स्कुटरको क्षेत्रमा विशेष छाप छोड्न सफल जापानी कम्पनी कोमाकीलाई दुई साताअघि नेपाली बजारमा भित्र्याएको छ । १९७६ मा जापानमा स्थापना भएर २०१६ देखि भारतमा विद्युतीय स्कुटर निर्माण गर्दै आइरहेको कोमाकी नेपालमा भित्रिएको यो पहिलोपटक हो ।
यसलाई युनिटीका अध्यक्ष सीपी श्रेष्ठ र उनको टिमले भित्र्याएको हो । जापानी प्रविधिमा भारतमा निर्माण भएको कोमाकी नेपाली बजारमा अहिलेसम्मकै उपलब्ध भएका विद्युतीय स्कुटरमध्ये उत्कृष्ट मान्न सकिन्छ । लामो समयदेखि नेपालमा भित्रिदै आएका विद्युतीय स्कुटरहरुमा पाउन नसकेको पावर र रेन्ज यसमा उपलब्ध छ र यसको विशेषता पनि यहीँ हो ।
‘भविष्य ईभी कै भएको कारण हामीले सबै कुरा छोडेर यतातिरै केन्द्रित भएका हौ र यसको बजार सुनिश्चित गर्न विद्युतीय स्कुटरको हरसम्भव समस्याको समाधान गर्ने स्कुटर ब्राण्ड हामीले लिएर आएका छौं ।’ युनिटीका अध्यक्ष श्रेष्ठ भन्छन् ।
पेट्रोलको भाउ महंगिएर डेढ सय रुपैयाँ पुगेको समय यसबाट पाउने अत्याधिक माइलेज भनेको ३० देखि ३५ किलोमिटर मात्र हो । यो स्कुटरले १.५ युनिट बिजुली अर्थात् २० रुपैयाँको खर्चमा ४ देखि ५ घण्टामा फूल चार्ज भएर न्युनतम १ सय किलोमिटरसम्मको रेन्ज दिन्छ । त्यसो त नेपाल बाहिर कोमाकीले यसको परीक्षण गर्दा १२० किलोमिटर रेन्ज दिएको थियो । तर, नेपालको भौगोलिक अवस्थाका कारण न्यूनतम १ सय किलोमिटर रेन्ज भने कायम रहेको छ ।
हरेक बाइक वा स्कुटर चालकलाई आनन्ददायी यात्राका लागि पावर र स्पिड चाहिन्छ । तर नेपालमा आएका अहिलेसम्मका विद्युतीय ईभीमा यो क्षमता छैन । जबकी कोमाकीको यो स्कुटरमा धेरै क्षमता र पावर छ । यसको मोटर ३ हजार वाटको छ जुन अहिलेसम्म बजारमा उपलब्ध कुनै विद्युतीय स्कुटरमा छैन । यसको रेटेड पावर ३ हजार हो । तर, पिकमा यसले ५२ सयसम्म पार दिन्छ ।
पावरका लागि ब्याट्री क्षमता पनि महत्वपूर्ण हुन्छ । कोमाकीले यो स्कुटरमा ७२ भोल्ट ४० एमपियरको ब्याट्री दिएको छ जुन बजारमा अहिलेसम्म उपलब्ध सबैभन्दा ठूलो ब्याट्री हो । अहिले बजारमा ६०.२६, ६०.३० भोल्टका ब्याट्रीहरु उपलब्ध छन् । यो सिंगल ब्याट्री सिस्टम हो जसलाई घरेलु चार्जले नै चार्ज गर्न सकिन्छ । यसलाई बाहिर निकालेर समेत चार्ज गर्न सकिन्छ ।
यसको फिचरको कुरा गर्दा सबै हेडलाईटहरु एलईडी छन् । विद्युतीय स्कुटर भएको कारण यसको कन्ट्रोलर, मोटर, ब्याट्री र इलेक्ट्रिक वायरिङ सबैमा सेन्सर छन् ।
यदि कुनै एकमा समस्या आयो भने त्यो स्कुटरको अगाडीको ड्यासबोर्डमा डिस्प्ले हुन्छ त्यसैले राइडर आफैले पनि समस्याको पहिचान गर्न सक्छ । यदि स्कुटर बिग्रिएर पुरै रोक्कियो भने त्यस्तो बेला ह्याण्डल छेउको रिपेयरिङ मोड थिचेर १५ किलोमिटरसम्म जान सकिन्छ ।
कोमाकीको यो स्कुटरहरुमा ‘रिजेनेरेटिभ ब्रेकिङ सिस्टम’, यसमा रिभर्स सिस्टम, डबल सीबीएस ब्रेकिङ सिस्टम छन् । यसमा स्मार्ट कनेक्सनहरु छन् छन् जसबाट फोल, ब्लुटुथहरु अपरेट गर्न सकिन्छ । यसमा सुपरमोड पनि छ जसले उकालोमा गाडी अगाडी बढाउन तीनवटा मोड दिन्छ ।
ब्याट्री झिक्न पनि सकिन्छ भने वारेन्टी ब्याट्रीमा दुई वर्ष भएको लिथियम आयन हो । मोटर कन्ट्रोलर र चार्जरमा एक वर्षको वारेन्टी हुन्छ । यसमा ब्लुटुथ लाउड स्पिकरको फिचर पनि छ । कम्पनीले यो स्कुटर दुई मोडलमा ल्याएको छ एउटा क्लासिक रेट्रो मोडलमा कोमाकी भेनिस र दोस्रो स्पोर्टी मोडलमा कोमाकी एसई रहेको छ ।
यी दुईमध्ये कोमाकी भेनिस केही महंगो छ, यसमा पछाडी सामान राख्नका लागि अतिरिक्त डिकी छ । यसको सिट पनि एकदमै आरामदायी छ । यो नेपाली बजारमा ६ कलर भेरियन्टमा उपलब्ध छ । यसको मूल्य ३ लाख रुपैयाँ पर्छ ।
यसैगरी दोस्रो भेरियन्ट स्पोर्टीको मूल्य २ लाख ९५ हजार रुपैयाँ छ । यी दुईको ग्राउण्ड क्लियरेन्स पनि राम्रो छ । भेनिसको १७० र एसईको १६० एमएम भएको कम्पनीले जनाएको छ । हेर्दा यी दुबै भेरियन्ट कुनै पनि दृष्टिले परम्परागत विद्युतीय टु ह्वीलर्स जस्तो देखिँदैनन् ।
कम्पनीले स्कुटर भित्र्याएको २ हप्ता भयो । हालसम्म १५ युनिट बिक्री भएर राम्रो प्रतिक्रिया आइरहेको र ‘रेफरल सेल’ पनि हुन थालेको श्रेष्ठ बताउँछन् ।
अहिले आयात भएका अधिकांश स्कुटरहरु बुकिङ भईसकेको उनले सुनाए । कम्पनीलाई भित्र्याएको थोरै दिन मात्र भएको छ सबै कुरा तयारी कै क्रममा रहेको उनी बताउँछन् ।
कम्पनीले एक वर्ष अघिदेखि ‘बिङ ह्युमन, ईमोटराड’ ब्राण्डका दुईओटा विद्युतीय साइकल पनि बिक्री वितरण गर्दै आइरहेको छ ।
कोमाकीको बिक्री सुरु गरेदेखि कम्पनीले बेनेलीको डिलरसिप त्यागेको छ ।
अहिले कम्पनीले बसुन्धारामा एउटा सर्भिस सेन्टर र गोदाम स्थापना गर्दैछ भने एउटा डिलर पनि चाँडै ल्याउँदैछ । अन्य १६ वटा डिलरका लागि पनि चाढै ‘भ्याकेन्सी’ खुलाउने श्रेष्ठले बताए ।
युनिटी व्यसायको प्रारम्भिक चरणमै छ र अझै तयारीमा व्यस्त छ । ग्राहकबाट राम्रो प्रक्रिया आएको खण्डमा अन्य पोर्टफोलियो पनि थप्ने कम्पनीले बताएको छ ।
अध्यक्ष सीपी श्रेष्ठ भन्छन्, ‘आज योबाट सुरु गर्ने भोलीको दिनमा कस्तो प्रतिक्रिया आउँछ त्योअनुसार अरु पनि ल्याउने सोचमा छौं । पछि इभी मोटरसाइकल उत्पादनको बाटोमा पनि जान सकिन्छ ।’