काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम ६० प्रतिशत सम्पन्न भएको छ । आउँदो चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायी रुपमा पानी ल्याउने तयारी भएको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल ईन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।
चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकिएको जनाएको छ ।
अस्थायीरुपमा काठमाडौँमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको कुँवरले जानकारी दिए ।
गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम सुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायीरुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्ने गरी तयारी थालिएको उनले बताए । मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौँ पठाउन सकिने समितिले जनाएको छ ।
गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको सपना पर धकेलिएको छ । आगामी चैतसम्म काठमाडौँ उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने समितिको लक्ष्य छ । तर, वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको कुँवरले बताए ।
मुख्य प्रवेशमार्गमै ठूलो पहिरो गएकाले एसियाली विकास बैंक (एडीबी) ले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको उनले जानकारी दिए । सुरुङमा थुुपारिएको ६० हजार मेट्रिक टन ग्रेगान माटो हटाइसकिएको जनाउँदै कुँवरले ब्लाष्टिङको अन्तिम चरणमा पुगेको जानकारी दिए । ब्लाष्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको उनको भनाई छ ।
गत असार–साउनमा मेलम्ची खोलामा बाढी आएपछि नेपाली सेनालगायत सरोकारवाला निकायले आवश्यक सहयोग गर्ने सहमति भएको थियो । सरकारले पटक–पटक मेलम्चीको पानी चैत मसान्तसम्म उपत्यकामा ल्याउने घोषणा गर्दै आएको छ । माघ ७ गते प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीको नाममा सम्बोधन गर्दै अस्थायी संरचना बनाएर यो वर्षभित्र मेलम्चीको पानी उपत्यकामा ल्याउने बताएका थिए ।
उता अर्थ मन्त्रालयले अस्थायी रुपमा मेलम्ची पुनर्निर्माणका लागि ३६ करोड ४५ लाख ३३ हजार रुपैयाँ दिने सहमति गरेको छ । खानेपानी मन्त्रालयका अनुसार मेलम्ची खानेपानी आयोजनाले नै उक्त रकम माग गरेको थियो ।
सोहीअनुसार अर्थले बजेट दिने सहमति गरेको हो । खानेपानी आयोजनाका विभिन्न संरचनाहरूमा गत असार १ र साउन १६ गते मेलम्ची खोलामा गएको लेदोसहितको बाढीले पुरिएका छन् ।