काठमाडौं । रसिया र युक्रेनबीच युद्ध सुरु भएपछि कोइलाको मूल्य ‘अलटाइम हाई’ बनेसँगै उद्योगीले आफूसँग भएको मौज्दात झिकेर सिमेन्ट उत्पादन गरिरहेका छन् ।
हरेक दिन कोइलाको मूल्य ४० प्रतिशतसम्म बढ्न थालेपछि नयाँ एलसी खोल्न रोकेर उनीहरुले स्टकबाट कोइला निकालेर सिमेन्ट बनाइरहेका हुन् । यद्यपि, बुधबार कोइलाको मूल्य प्रतिटन ४०५ डलरमा झरेको छ । मंगलबारको तुलनामा १७ डलरले कोइलाको मूल्य घटेको हो ।
कोइला सिमेन्टको प्रमुख कच्चा पदार्थ हो । खानीबाट ल्याएको चुनढुंगालाई पोलेर क्लिङ्कर बनाइन्छ । क्लिङ्कर बनाउन कोइला नै प्रयोग गरिने भएकाले यसको मूल्यमा सामान्य घटबढ हुनेबित्तिकै सिमेन्टको लागतमा प्रत्यक्ष प्रभाव पर्ने नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवाल बताउँछन् ।
कोइलाको भाउ चर्किएपछि अहिले कुनै पनि उद्योगीले नयाँ एलसी खोलेका छैनन् । उनीहरुले आफूसँग भएको कोइला प्रयोग गरेर सिमेन्ट उत्पादन गरिरहेका छन् । सामान्यतयाः उद्योगसँग एक महिनाका लागि कोइलाको स्टक हुन्छ । युक्रेन रसियाबीच तनाव सुरु भएको १५ दिन भइसक्यो । १५ दिनदेखि कोइलाको नयाँ एलसी खुलेको छैन् ।
किनभने महँगो मूल्यमा कोइला किनेर सिमेन्ट बनाउँदा लागत अत्यधिक बढ्छ । अहिले जेनतेन आफैसँग भएको कोइला प्रयोग गरेर सिमेन्ट बनाइरहेको आरएमसी ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका अग्रवालले जानकारी दिए ।
उनका अनुसार केही दिनमा पनि मूल्य ओरालो लागेन भने महँगोमा कोइला किन्नुको विकल्प छैन । ‘अहिले त मूल्य पनि घट्ला कि भन्ने आशले मौज्दात प्रयोग भइरहेको हो,’ उनले भने, ‘मूल्य पनि नघट्ने र मौज्दात पनि सकिँदै जाने अवस्था आएमा बाध्य भएर जुनसुकै मूल्य तिरेर पनि कोइला किन्नुपर्ने अवस्था आइपर्ने छ ।’
कोइला बाहेक स्टिलको मूल्य पनि आकाशिएको छ । जगदम्बा इन्टरप्राइजेजका प्रबन्ध निर्देशक अनिल रुङ्गाटाका अनुसार स्टिलको मूल्य प्रतिटन ९ सय डलर पुगेको छ । अझै मूल्य बढ्ने सम्भावना रहेको उनको भनाइ छ । नेपालमा ठूलो परिमाणमा स्टिलको खपत हुन्छ ।
त्यो सबै विदेशबाट आइरहेको छ । अहिले नेपाल तीनवटा मारबाट गुज्रिरहेको रुङ्गाटा बताउँछन् । एकातिर डलरको मूल्य छोइनसक्नु गरी बढेको छ । अर्कोतिर सामानको मूल्य पनि अचाल्की बढेको छ र नेपालबाट बढी रकम बाहिरिरहेको उनको भनाइ छ ।
कोइलाको नयाँ एलसी खोल्न बन्द
एकातिर कोइलाको नयाँ एलसी खुलेको छैन भने अर्कोतिर उद्योगले आफ्नो क्षमता ५० प्रतिशत कटौती गरेका छन् । बजारमा सिमेन्टको मागमा आएको गिरावटका कारण ५० प्रतिशत क्षमतामा उद्योग चलेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापा बताउँछन् ।
सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन । बैंकले नयाँ परियोजना तथा निजी आवास बनाउन पनि ऋण दिन सक्ने अवस्था छैन । निजी आवास बनाउन ऋण नदिने बित्तिकै निजी आवास बनाइँदैन । यी सबै कारणले गर्दा सिमेन्टको माग पनि ५० प्रतिशतले कमी आएको उनको भनाइ छ ।