काठमाडौं । नेपाल युवाले स्थापना गरेको स्टार्टअप डकसुमोले चारवटा अन्तर्राष्ट्रिय भेन्चर क्यापिटल कम्पनीबाट संयुक्त रुपमा ४३ करोड नेपाली रुपैयाँ बराबरको बीउ पुँजी प्राप्त गरेको छ ।
एआईमा आधारित डक्युमेन्टेसनको काम गर्ने डकसुमो स्टार्टअपलाई फिफ्थ वाल, आर्बर रियल्टी ट्रस्ट, बेटर क्यापिटल र कमन ओसियनले संयुक्त रुपमा लगानी गरेको हो ।
कम्पनीलाई नेपाली डेटा वैज्ञानिक तथा उद्यमी विक्रम दाहाल र उनका भारतीय साथी रुषभ सेठले २०१९ जनवरीमा स्थापना गरेका हुन् । डकसुमो कम्पनीले आफ्ना ग्राहकहरुको कागजातबाट स्वचालित निर्णय गर्न मद्दत गर्छ ।
स्टार्टअपको मूल प्रविधि नेपालकै डेटा वैज्ञानिक तथा इन्जिनियरहरुबाट सञ्चालित छ जसले व्यवसायहरुलाई वित्तीय कागजातहरु स्वचालित रुपमा पढ्न र त्यसको आधारमा निर्णय गर्न सघाउँछ ।
कम्पनीले नयाँ लगानीबाट भारत र नेपालमा रहेका आफ्ना कर्मचारी संख्या विस्तार गर्दै स्टार्टअपलाई थप बृहत् बनाउने योजना लिएको छ ।
लगानी पाएपछि विक्रम भन्छन्, ‘हामीलाई पहिलेदेखि नै नेपालबाट ग्लोबल सास सफ्टवेयर बनाउन सकिन्छ भन्ने विश्वास थियो ।
हामीसँग हाल काठमाडौंमा २५ जना डेटा साइन्टिस्ट र इन्जिनियहरु काम गरिरहेका छन् । हामी यो वर्षको अन्त्यसम्म यो संख्या सयमा पुर्याउने छौं । हाम्रो उद्देश्य नेपाललाई पनि इजरायल जस्तै प्रविधिको हब बनाउने हो ।’
पछिल्लो १२ महिनामा डकसुमोले मुम्बाई र काठमाडौंमा आफ्नो टिम बढाएको र आम्दानी पनि ६ गुणाले वृद्धि गरेको छ ।
कम्पनीले हाल अमेरिका र युरोेपेली युनियन मुलुकाहरुका कम्पनीलाई सेवा दिइरहेको छ । कम्पनीले यसअघि २ी०२० मा बारक्लेस, सेक्युआ, जुपिटर मनी एन्ड एम्पका जितेन गुप्ता र पाइन ल्याब्सका अमरिश राउबाट प्रि सिड राउन्ड उठाएको थियो ।