काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको मुख्य सुरुङ खन्ने काम पूर्वनिर्धारित समयभन्दा एक महिना ढिलो सम्पन्न हुने भएको छ । पूर्वनिर्धारित समयभन्दा ढिलो भई २०७९ साउनमा मुख्य सुरुङ तथा अडिट टनेल खन्ने काम सम्पन्न हुने भएको हो ।
आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार सुरुङ खन्न सुरु गर्दा नै केही समय ढिलो भएको कारण एक महिना बढी समय लागेको हो । क्यापिटल नेपालसँग कुरा गर्दै प्रमुख शाक्य भन्छन्, ‘सुरुङ खन्ने काम नै एक वर्ष ढिलो भएको थियो त्यसैले एक महिना समय धकेलिएको हो । पहिला दैनिक ७ किलोमिटर खन्ने योजना रहेकोमा अहिले १० किमि खनिरहेका छौं ।’
नागढुंगामा मुख्य सुरुङ २ हजार ६८८ मिटर लामो रहेको छ । मुख्य सुरुङ र अडिट टनेल गरेर ५ हजार ४ सय ९९ मिटरमध्ये हालसम्म २५ सय मिटर खनिसकिएको आयोजना प्रमुख शाक्यले बताए । त्यस्तै अडिट टनेलको काम ०७८ चैतमा सक्ने बताइएको थियो । तर, मुख्य सुरुङमा बढी केन्द्रित भएकाले अडिट टनेल खन्ने काम पनि लम्बिने भएको छ ।
‘अडिट टनेलको काम सक्ने लक्ष्य चैतसम्मको हो तर, अडिटको काम धेरै अगाडि बढेर मुख्य सुरुङको काम कम भएकाले हामी मुख्य सुरुङमा बढी केन्द्रित भएका छौं’, उनले भने । आयोजनाको समग्र भौतिक प्रगति हालसम्म ३२ प्रतिशत भएको छ । त्यस्तै सुरुङमार्गको मात्रै भौतिक प्रगति भने ४५ प्रतिशत पुगेको बताइएको छ । आयोजना निर्माण सम्पन्न गर्ने अन्तिम म्याद सन् २०२३ अप्रिलसम्म रहेको छ ।
मुआब्जाका लागि ३५ करोड प्राप्त
मुआब्जा वितरणका लागि नागढुंगा सुरुङमार्ग आयोजनले माग गरेको ३५ करोड रुपैयाँ बजेट प्राप्त गरेको छ । आयोजनाले गत माघको पहिलो साता मुआब्जाका लागि मागेको ३५ करोड रुपैयाँ अर्थ मन्त्रालयले फागुन दोस्रो साता उपलब्ध गराएको हो । ‘अहिलेको ३५ करोड रुपैयाँले ३ सातालाई पुग्छ, यतिले मात्रै मुआब्जामा वितरण गर्ने रकम पुग्दैन फेरि माग गर्नुपर्छ’, आयोजना प्रखुम शाक्यले भने ।
निर्माणाधीन सुरुङमार्ग आयोजनामा १ अर्ब १४ करोड रुपैयाँ मुआब्जा आवश्यक पर्नेमा हालसम्म करिब ६५ करोड रुपैयाँ प्राप्त भएको छ । उक्त ६५ करोडमध्ये ३५ करोड रुपैयाँ भने वितरण गरिएको आयोजनाको भनाइ छ ।
नागढुंगा सुरुङमार्गको लागत भने करिब २२ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । त्यसमध्ये १६ अर्ब ६० करोड रुपैयाँ जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि सहुलियत ऋण उपलब्ध गराएको हो । नेपालले ५ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेको छ । सुरुङमार्ग निर्माण भएपछि सिस्नेखोला र काठमाडौंको यात्रा २० मिनेटमा गर्न सकिन्छ ।