काठमाडौं । सिंहदरबारको पुतली बगैंचामा निर्माणाधीन संघीय संसद् भवनको काम ४० प्रतिशत सम्पन्न भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग र तुँन्दी सेक जेभीबीच २०७६ असोज १६ गते संसद् भवन निर्माणका लागि ठेक्का सम्झौता भएको हो । ठेकेदार कम्पनीले हालसम्म ४० प्रतिशत काम सकेको भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ ।
५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँमा निर्माण सम्झौता भएको सो भवन सम्पन्न गर्ने सुरुवाती म्याद २०७९ असोज १६ गतेसम्म रहेको थियो । तर, कोरोना महामारीका कारण ६ महिना म्याद थपिएको आयोजनाका निर्देशक दिलीप शेखर श्रेष्ठले बताए । उनका अनुसार हाल उक्त भवन निर्माण गर्नुपर्ने म्याद २०८० साल वैशाखसम्म पुगेको छ ।
निर्धारित समय अर्थात् २०८० साल वैशाखमा संसद् भवनको निर्माण सम्पन्न हुनेमा आयोजना प्रमुख विश्वस्त देखिन्छन् । क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘निर्माण व्यवसायीले राम्रोसँग काम गरिरहेका छन् । २०८० को वैशाखमा भवन बनिसक्छ । अहिलेसम्मको निर्माण कार्यको गति हेर्दा म्याद थप्नु पर्दैन ।’
विशेष भवन निर्माण आयोजनालाई चालू आर्थिक वर्षमा २ अर्ब ६० करोड रुपैयाँ बजेट प्राप्त भएको छ । त्यसमध्ये संघीय संसद् भवनका लागि ८२ करोड रुपैयाँ रहेको आयोजनाले जनाएको छ । उक्त ८२ करोड रुपैयाँमध्ये संघीय संसद् भवन निर्माण कार्यमा चालू आवको पुस मसान्तसम्म २८ करोड रुपैयाँ खर्च भएको श्रेष्ठ बताउँछन् । आगामी असार मसान्तसम्ममा बाँकी पैसा खर्च गरी सक्ने योजना रहेको उनको भनाइ छ ।
त्यस्तै आयोजना समन्वय कार्यालयको मागअनुसार बजेट प्राप्त भएको बताइएको छ । ‘विशेष भवन कार्यालका लागि पर्याप्त बजेट आएको छ, संसद् भवन बनाउनै बजेट अभाव भयो भने त कसरी काम गर्नु ?’ प्रमुख श्रेष्ठले भने ।
०७९/८० का लागि दोब्बर बजेट माग
यसैबीच आगामी आर्थिक वर्ष ०७९/८० का लागि समन्वय कार्यान्वयन कार्यालयले चालू आवको तुलनामा दोब्बर बजेट माग गरेको छ । आयोजनाका निर्देशक दिलीप शेखरका अनुसार आव ०७९/८० का लागि ४ अर्ब ५० करोड रुपैयाँ माग गरिएको हो । चालू आवमा सो कार्यालयका लागि २ अर्ब ८० करोड रुपैयाँ प्राप्त भएको छ ।
कुल १७३ रोपनीमा फैलिने सो भवनमा संघीय संसद् भवन, प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबी, अतिविशिष्ट कक्ष र व्यक्तिहरूको कार्यालयलगायत गरेर ११ वटा भवन बन्ने छन् । १७३ रोपनीमध्ये १५१ रोपनीमा भवन तथा संरचना र अन्य क्षेत्रमा खुला ठाउँ, चौर, बगैंचा, सडकपेटी रहने बताइएको छ ।
संसद् भवन परिसरमा बन्ने सबै भवनहरूमा काठमाडौंको स्थानीय वास्तुकला झल्कने खालको हुनुको साथै हाइटेक आधुनिक इन्जिनियरिङ डिजाइन प्रविधिलाई अपनाएर निर्माण गरिने बताइएको छ ।
सांसदहरूको संख्या धेरै भएपछि सिंहदरबारभित्र भएको पुरानो संसद् भवनमा बस्न अप्ठ्यारो भयो । सरकारले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद्को काम कारबाही सञ्चालन भइरहेको छ । सम्मेलन केन्द्रलाई सचिवालयले वर्षेनी करोडौं रुपैयाँ भाडा बुझाउँदै आएको छ ।