महिलाहरु चुलाचौकामा सीमित हुने दिए अब गए । उनीहरु पनि पुरुषसरह समान अधिकार, जोस र हिम्मतका साथ हरेक क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाइरहेका छन् ।
पछिल्लो समय व्यापार÷बिजनेसमा पनि महिलाहरु सक्रिय देखिन थालेका छन् । अझ नयाँ पुस्ताहरुले त सूचना–प्रविधिको प्रयोग गर्दै नवीन सोचका साथ काम गरिरहेका छन् ।
तर, यो उत्साह कहिलेसम्म रहन्छ भन्ने प्रश्न धेरैको छ । नेपालको राजनीतिक खिचातानी र सरकारी संयन्त्रको ढिलासुस्तीले केही गरौं भन्ने युवा नेतृत्वहरुलाई बिस्तारै गलाउँदै लैजान थालेको छ । विभिन्न समयमा परिवर्तन हुने नीतिदेखि केही काम गराउन १० ठाउँमा धाउनुपर्ने बाध्यताका कारण पनि ती युवाहरुको जोस सेलाउँदै जाने पो हो कि ? डर लाग्छ ।
हामीले त जेनतेन कर्मचारी संयन्त्रदेखि राजनीतिक नेतृत्वको कार्यशैली सहँदै यहाँसम्म आइपुग्यौं । तर, अबको पुस्ताले हामीले नै गर्ने व्यापार÷बिजनेसलाई सम्हाल्दै यही क्षेत्रमा काम गर्छन् भन्ने लाग्दैन । जसकारण बिस्तारै व्यावसायिक संघ–सस्थामा महिला नेतृत्वकर्ताहरु घट्दै गएको पाइन्छ ।
नेपालकै इतिहासमा पहिलोपटक म होटल एसोसिएन अफ नेपाल (हान) को केन्द्रीय अध्यक्ष बनेँ । यस्तै नेपाल उद्योग वाणिज्य महासंघमा पनि पहिलो महिला अध्यक्ष बन्नु भयो, भवानी राणा । त्यसपछि नेतृत्व हानमा पनि देखिँदैन र महासंघमा पनि छैन । यसरी हेर्दा के हामीले कसैको आशीर्वादमा नेतृत्व गर्ने अवसर पाएका हौं त ? भन्ने प्रश्न उठ्न सक्छ ।
तर, त्यस्तो कदापि होइन । हामीले त मिहिनेत, संस्थाप्रतिको लगाव र भिजनका कारण नेतृत्व गर्ने अवसर पाएका हौं । त्यही नेतृत्व गर्ने अवसर पाएकै कारण सरकारी संयन्त्रमा आफ्ना एजेन्डालाई जोडतोडका साथमा राख्ने मौका पाएको छु । मैले देशभरका होटलहरुको प्रतिनिधित्व गर्दै आफ्ना समस्याहरु सरकारसमक्ष राख्दै आइरहेको छु ।
नीति निर्माणकर्तालाई होटल र पर्यटन क्षेत्रको समस्या समाधानार्थ ढोका ढकढकाएको छु । अहिलेसम्म कुनै पनि काममा ‘तिमी महिला हौ, तिम्रो निर्णय मान्दैनौं भन्ने प्रतिक्रिया आएको छैन । तर, सरकारी संयन्त्रमा महिलाले राखेको प्रस्तावलाई निर्णयमा लेखिए पनि कार्यान्वयनमा भने कहीँ चुकेको हो कि भन्ने भान हुन्छ ।
हानको नेतृत्व गरिरहँदा होस् या अन्नपूर्ण होटलको व्यवस्थापन हेरिरहँदा, मैले कहिल्यै पनि महिला भएकै कारणले समस्या भोगेको छैन । नेतृत्व लिन÷गर्न सबभन्दा ठूलो कुरा भनेको क्षमता र समय व्यवस्थापन नै हो । धेरै महिलाको मुख्य समस्या भनेकै समय व्यवस्थापन गर्न नसक्नु हो ।
विषेश गरी विवाह गरेपछि सासु–ससुरालाई ख्याल गर्नेदेखि बालबच्चा जन्मिएपछि दिनुपर्ने समयका कारण महिलाले आफ्नो कामबाटै पलायन हुनुपर्ने घटना धेरै छन् । रोजगारीमा मात्र होइन, नेतृत्वमा जानेको हकमा पनि यो समस्या धेरै देखिन्छ । अतः म भन्छु, जसले समय व्यवस्थापन गर्न सक्छ, नेतृत्वको पनि अवसर पाउँछ ।
त्यसैले अहिलेको हाम्रो माग भनेको सरकारी होस् या निजीमा, महिलाहरु अर्थात् बच्चा भएकालाई छुट्टै शयनकक्षको अनिवार्य व्यवस्था गर्नुपर्ने माग राख्दै आएका छौं । जुन प्रचलन विदेशमा छ । तर, नेपालमा यसलाई लागू गर्न सकिएको छैन । यसो भएको खण्डमा बच्चा जन्मिएपछि महिला व्यवसाय या रोजगारीबाट पलायन हुनुपर्दैन । यही सोचेर मैले अब बन्ने मेरा होटल÷भवनमा यस्तो सुविधा सुरु गर्ने सोचमा छु ।
अहिले त संसदमा पनि महिलाहरु हुनुहुन्छ । तीन तहकै सरकारमा महिला अनिवार्य उपस्थिति छ । तर, पनि कार्यकारी भूमिकाको नेतृत्व जति महिलाहरुले लिनुपर्ने हो, त्यति देखिँदैन । जबसम्म कार्यकारी भूमिकामा पुगिँदैन तबसम्म महिलाहरुको हकहित र अधिकारका लागि आवाज उठाए पनि निर्णय गराउन सकिँदैन । अझ निजी क्षेत्रमा त महिला नेतृत्व कम हुँदै गएको छ । यो चिन्ताको विषय पनि हो ।