काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. २ स्थित भंगाल पिपलबोटनजिक टिनको पाताले बेरेको एउटा कटेरोमा दिदी सुनबरी र बहिनी सुकुबरी तान बुन्दै थिए ।
सुनबरी तानको एक छेउ दाँत र अर्को छेउ हातले समातेर ६ वटा धागोलाई खेलाउँदै दाँतकलामा व्यस्त थिइन् । सुकुबरी पनि यसैगरी हात–खुट्टाको सहारामा सुनाखरीको चोयामाथि धागोको मिहिन बुट्टा भर्दै थिइन् ।
छेउमा दुइटा डोका रङगीबिरङ्गी पेचुरी, धजुरी र सिलाम साक्माले भरिएका छन् । कोठाको भित्ताभरि उनीहरुले नै बनाएका विभिन्न वेशभूषा तथा आभूषण राखिएका छन् । यस्तै बाहिर आँगन छेउमा चारवटा तान राखिएका छन् । सानो करेसामा चिण्डो फलेर बारको आडमा झुन्डिएका छन् ।
माइली माजाफूल घरभित्रको सुसेधन्दा गर्दै घरीघरी तान सम्हाल्न भ्याउँछिन् ।
माजाफूलको सानो कटेरोभित्रको दैनिकी हो यो । मुर्चुंगा र बिनायो बाजामा भाका हाल्दै बडो तन्मयपूर्वक यी तीन दिदी बहिनीले तान बुनेको दृश्यले आदिमकालमा किरातीका पुर्खा चेलीहरु तयामा र खियामाको झल्को दिन्छ ।
सोलुखुम्बुमा जन्मिएका यी तीन दिदी बहिनीले होस सम्हालेदेखि नै पुर्खाहरुको यही आदिम संस्कृति र सीपलाई अनुकरण गर्दै आइरहेका छन् । उनीहरुबाट आर्शीवादस्वरुप पाएको यो ज्ञानलाई ५ वर्ष अघि माइली बहिनी माजाफूलले व्यवसायीकरण गर्ने सोच बनाएर पाङ्गा सेमुरीको नाममा उद्योग दर्ता गराई आफ्ना दुई दिदीबहिनीसँग मिलेर काम गर्दैछिन् ।
लोप हुँदै गइरहेको आफ्नो संस्कृतिको पनि जगर्ना हुने र जीवनयापन पनि सजिलोसँग हुने भएकाले यिनीहरु आफ्नो कामप्रति खुसी छन् ।
सोलु छोडेर काठमाडौं छिरेको पनि वर्षाैं भइसक्यो । सहरी जीवनको सुरुवामा जीविकोपार्जनका लागि माजाफूलले सानो चियापसल थालेकी थिइन् । अरु दिदीबहिनी पनि यस्तै किसिमका पेसा÷व्यवसायमा संलग्न थिए । फुर्सदको समयमा आफ्नो हातको रैथाने सीपलाई धार लगाउन विभिन्न सामाग्री बनाएर प्रयोगसमेत गर्थे ।
कुरा २०६६ सालको उधौली साकेला पर्वको हो । टुँडिखेलमा बर्सेनि आयोजना हुने समारोहमा आफ्नो वेशभूषामा सजिएर गएका दिदीबहिनीहरुमा सबैको आँखा पर्यो । घरेलु तानमा बुनेको फेङ्गा, पाङ्गा, फेङ्गामा झुन्डिएको पेचुरी, धजुरी, कुची, बियानो, मुर्चुंगा, कपालमा लगाएको सुनाखरीको दोङ्गम, विशुद्ध किराती भेष । उनीहरुलाई देखर धेरैले त्यस्तो सामान किन्न पाइन्छ ? भनेर सोध्न थाले । अनि बल्ल हामीले बनाउँदै आएको झारपातको जडौरी पनि बिक्ने रहेछ भनेर उनीहरुले थाहा पाए ।
त्यसपछि भने उनीहरुले त्यस्ता सामान बनाउने र बिक्रीवितरण गर्ने कामलाई प्राथमिकता दिन थाले । विभिन्न सांस्कृतिक कार्यक्रम तथा समारोहमा आफ्नो सामानको बिक्रीवितरण तथा प्रचारप्रसार गर्न तीनै जना पुग्थे ।
‘हामीले पढे/लेखेका थिएनौं । जानेको सीप भन्नु यही थियो । यस्तो कुराहरु मान्छेले किन्छन् भनेर थाहा पाएपछि खुसी भएर लाग्न थाल्यौं’ माजाफूलले सुनाइन् ।
सांस्कृतिक कार्यक्रम नहुँदा पनि झोला बोकेर आफ्नो सामान देखाउन घरघर पुग्थिन् माजाफूल । साथै पूर्वेलीहरुको बाहुल्यता भएको काठमाडौंको कोटेश्वर, ललिपुरको सातदोबाटो र नखीपोटमा यी दिदीबहिनीहरु धेरैजसो समय डुलिरहन्थे ।
एक दिन यसैगरी नखीपोटमा कान्छी सुकुबरी झोलामा सामग्रीहरु बोकेर बेच्न बसेकी थिइन् । तर, लाजले पोका लुकाएर उभिरहेकी सुकुबरीलाई कपिल बान्तावा राईले देखे । बान्तावा ललिलपुरमा विभिन्न सांस्कृतिक वेशभूषाको बिक्रीवितरण गर्ने सुम्निमा कलेक्सनका सञ्चालक हुन् । उनले सुकुबरीलाई अरु पनि सामग्री छ भने देखाउन आग्रह गरे । सुकुबरीले आफूसँग भएको सबै सामान देखाइन् ।
‘कपिल बान्तावाले सबै लिने भनेपछि म त खुसीले आत्तिएछु’, उनले हाँस्दै पूर्वेली लयमा सुनाइन्, ‘त्यस बेला ५ रुप्पे गोटाले नै सबै धजुरी पेचुरी बेचिदिएँ।’
त्यति बेलासम्म यी दिदीबहिनीहरु जातीय संस्थाअन्तर्गत रहेर वेशभूषा बनाउँदै बिक्री गर्ने गर्दथे । तर, जातीय संस्थासँग बीचमा केही मतभेद भएपछि उनीहरुले बाटो अलग गरे । संयोगवश सुकुबरीले त्यति नै बेला कपिललाई भेटिन् । अहिलेसम्म खुद्रामा बिक्री गर्दै आएको सामग्रीको होलसेल अर्डर आउने सुनिश्चित भयो ।
तीन बहिनीमध्येकी माजाफूललाई उनकी दुई दिदीबहिनीले उद्योग सुरु गर्न हिम्मत दिए । उनीहरुकै हौसला र सहयोगमा माजाफूलले ५ वर्षअघि पाङ्गा सेमुरी नामको उद्योग दर्ता गराएर व्यावसायिक रुपमा सांस्कृतिक वेशभूषा तथा सामग्रीहरुको उत्पादन सुरु गर्न थालेकी हुन् ।
त्यसका लागि उनले डेढ लाख रुपैयाँमा ४ वटा तान खरिद गरिन् । सुम्निमा कलेक्सनलगायत ललितपुर वरपरका धेरैजसो पसल तथा कलेक्सन स्टोरबाट उनीहरुलाई होलसेल अर्डर आउन थाल्यो । ३ जनाको परिश्रमले मात्र माग धान्न नसक्ने देखेपछि आफूहरुको अमूल्य सीप अरुलाई सिकाए, काम दिए ।
यसरी पाङ्गा सेमुरी उद्योग सञ्चालन गरेको ५ वर्ष भइसकेको छ ।
आफूजस्तो एकल र निम्न वर्गीय महिलालाई पनि सीप सिकाएर सशक्त बनाउनु नै माजाफूलको उद्देश्य हो । हाल उनको उद्योगमा ८ जना महिला काम गर्दै आइरहेका छन् ।
माजाफूलको उद्योग भनेकै उनको त्यही कटेरो हो । अन्य उद्योगमा जसरी उनको कटेरोमा कामदार आउँदैनन् । अर्डर आएपछि आफूजस्तै गृहणीलाई माजाफूल काम बाँड्छिन् र पारिश्रमिक दिन्छिन् ।
उनको उद्योगले किरात संस्कृतिअनुसार वेशभूषामा प्रयोग हुने सम्पूर्ण सामग्रीहरु आफैं उत्पादन गर्छ । पाङ्गा, फेङ्गा, धजुरी, पेचुरी, दोङ्गम, बिनायो, मुर्चुंगा, कुची, बाँसको काइँयो, झोला, तितहार, सिकिरी अवारमेरी, झल्लारी, कम्मरीलगायत किरात कर्मकाण्डमा आवश्यक सोल्तम, पेतिकाफ्यामजस्ता धेरै सामग्रीहरु निर्माण गर्छन् ।
यी सम्पूर्ण सामग्रीहरु प्रकृतिमै पाइने कच्चा पदार्थबाट बनाइन्छन् । जसमा मेसिन होइन हात, खुट्टा र दाँतको प्रयोग हुन्छ् । यसैले किरात संस्कृतिक अध्येता तीर्थराज मुकारुङ यसलाई ठट्यौली पारामा हस्त, खुट्टे र दन्तकला भन्छन् ।
यी सामग्रीहरु बनाउँदा उत्पादन लागतभन्दा पनि परिश्रम धेरै लाग्ने सुनबरी बताउँछिन् । यी सामग्री सुनाखरीको लहरा, दुम्सीको काँडा, कटन, कपास तथा अल्लोको धागो, घोंगे (मैदानमा पाइने एक किसिमको लामो झार), रेंगटाको दाना, सुँगुरको जगर, दारको काठलगायत विभिन्न प्राकृतिक वस्तुबाट बनाइन्छ ।
‘हामीले उत्पादन गर्ने सामान किन्न पर्दैन । जाँगर छ भने हाम्रै पाखा–पखेरा, जंगल, खुल्ला मैदानतिर पाउन सकिन्छ’, सुकुबरी भन्छिन्, ‘माटोबाट उत्पादन भएर माटोमै विलीन हुने वस्तुहरु उत्पादन गर्छौं ।’
पाङ्गा सेमुरीले उत्पादन गर्ने हरेक सामग्रीहरु किराती धार्मिक ग्रन्थ मुन्धुमभित्र उल्लेखित वस्तुहरु हुन् । यिनको आफ्नै धार्मिक, सांस्कृतिक महत्व छ ।
अहिले माजाफूलको पाङ्गा सेमुरीको सामग्री काठमाडौंबाहेक धरान, भोजपुर, भारतको सिक्किम लगायतका ठाउँहरुमा जाने गरेको छ । सिमानापारि फैलिएका किराती डायस्पोरामा पनि उनीहरुका सामग्रीहरु समय समयमा जान्छन् । यसरी हातबाट बुनिएका सामग्रीको मूल्य २ सयदेखि ६ हजारसम्म पर्छ ।
‘हाम्रा सांस्कृतिक वस्तुहरुको विदेशतिर पनि माग हुन्छ । केही समयअघि गायिका आभा मुकारुङले पनि हाम्रो सामग्री अमेरिकामा पुर्याएर प्रचार गरिदिनु भएको थियो’ माजाफूलले क्यापिटल नेपाललाई सुनाइन् ।
किरात संस्कृतिअनुसार यी सामग्रीहरु उपहारस्वरुप महिला–पुरुषबीच साटासाट हुने, रोगव्याधिबाट टाढा रहन प्रयोग गर्ने, गरगहनाहरु सफा गर्न, विवाह तथा भोजभतेरमा प्रयोग गरिन्छ । यसबाहेक यिनको प्रयोग दैनिक जीवनमा पनि आवश्यक पर्छ ।
यिनै सामग्रीको उत्पादन तथा बिक्री गरेर अहिले तीनै जना दिदीबहिनीले बालबच्चालाई शिक्षादीक्षा दिनेदेखि काठमाडौंमा सजिलोसँग जीवनयापन गरी आफ्नो कला संस्कृतिको जगेर्ना गर्दैछन् ।
पछिल्लो समय कोभिड महामारीका कारण सांस्कृतिक कार्यक्रम नहुँदा आफ्नो व्यवसाय पनि प्रभावित भएको माजाफूल बताउँछिन् । सामान्य समयमा विभिन्न अवसरमा आयोजना हुने सांस्कृति कार्यक्रममा एकै दिनमा ४० हजार रुपैयाँभन्दा बढी कमाएको उनीहरुको अनुभव छ ।
‘हामीले हाम्रो अमूल्य सिप अरुलाई सहयोग होस् भनेर बाँड्यौं, सिकायौं । अहिले उनीहरुले सीपको दुरुपयोग गरी बजारमूल्य बिगारिरहेका छन्’, कला÷संस्कृतिमा भित्रिएको विकृतिबारे गुनासो पोख्छिन् सुनबरी, ‘यी वस्तु भनेको भोक लाग्यो, बेच्यो खायोजस्तो होइन ।
यो त सीप हो, संस्कृति हो, जीवनप्रणाली हो । यसको आफ्नै मूल्य मान्यता छ । तर, बजारमा कमसल सामान बनाएर आलूभन्दा सस्तो मूल्यमा बेचेर बजार बिगारिरहेका छन् । यसले गर्दा हाम्रो गुणस्तरमा पनि शंका गर्न थालेका छन् ।’
पाङ्गा सेमुरीसँग ठूलो व्यवसायिक भिजन छैन । न त बजार रणनीति नै । तर, ख्याल ख्यालमा सुरु गरेको व्यवसाय झाङ्गिँदै जाँदा आफूहरुमा थप ऊर्जा र हौसला थपिएको उनीहरु सस्वर बताउँछन् ।