काठमाडौं । संसारमा सबैभन्दा ठूलो चिज हो, समय । समयअनुसार मान्छे परिवर्तन हुँदै जान्छ । समयले पनि मान्छेलाई परिवर्तन गराउँदै लैजान्छ । तिनै परिवर्तित व्यक्तिभित्र पर्ने एक हुन्, ललितपुर धापाखेलनिवासी सोफी प्रधान ।
सोफी पेसाले एसिस एजुकेसन कन्सल्ट्यान्सकी ब्रान्च म्यानेजर हुन् । यसबाहेक पर पनि उनको परिचय छ ।
सोफी एजुकेसन कन्सल्ट्यान्समा जागिर त खान्छिन् नै । यसबाहेक अरुलाई मीठो अचारसमेत चखाउँछिन् । सानैदेखि खानाका विभिन्न परिकार बनाउन सोखिन उनले अहिले अचारको व्यवसायमार्फत व्यावसायिक यात्रा तय गर्दैछिन् ।
आफ्नै नाममा ब्रान्ड बनाउने रहर उनलाई सानैदेखि रहेछ । तर, कस्तो काम गर्ने ? कसरी अघि बढ्ने ? निधो थिएन । तर, कोभिड–१९ का कारण जारी लकडाउन उनका लागि फलदायी साबित भयो । धेरैलाई लकडाउन समस्या बनिरहँदा उनले त्यसलाई करिअरको खुड्किला बनाइन् ।
घरमा बस्दा खानका लागि बनाएको अचारले आफ्नो परिचय बदल्ला भन्ने सोच उनले राखेकी थिइनन् रे ! परिवारसहित छिमेकी र आफन्तलाई अचार चखाउँदै गर्दा यसलाई व्यावसायिक रुपमा अघि बढाउनुपर्ने सुझाव दिए । धेरैबाट राम्रो प्रतिक्रिया पाएपछि घरमा बस्दा आम्दानी पनि हुने, समय पनि कट्ने सोचले अचार बिक्री गर्ने योजना बनाइन् ।
छिमेकी र आफन्तहरुलाई निःशुल्क अचार चखाएकी सोफीले करिब २५ हजारको लगानीमा व्यवसाय सुरु गरिन् । नाम दिइन्– सोफीको स्पाइसी ।
म्यानेजमेन्ट संकायमा एमबीए गरिसकेकी सोफीले करिब १ वर्ष अघिदेखि व्यावसायिक रुपमा काम सुरु गरिन् । छोटो समयमै उनले धेरै अचार बिक्रीवितरण गरिसकेकी छिन् । घरमा बस्दा आफैं खान बनाएको अचारले व्यावसायिक रुप लिँदै गएकोमा दंग छिन् ।
सोफी अहिले ३ प्रकारका अचार बनाउँछिन् । चिकेन, बफ र भेज आइटममा पाइने अचार धेरैको भान्साको रोजाइ बनेको छ ।
‘आफैंले खान बनाएको अचार सबैले मन पराएपछि व्यावसायिक रुपमै अघि बढ्ने निधो गरें’, उनी भन्छिन्, ‘अहिले अनलाइनमार्फत सीमित बिक्री सुरु गरेकी छु । छिटै यसलाई विस्तार गर्ने हो ।’
इस्टाग्राम र फेसबुकबाट अचारको अर्डर लिएर बिक्री गर्दै आएको बताउने उनले केही महिनाभित्र उद्योग नै खोल्ने कुरा क्यापिटल नेपाललाई सुनाइन् । यस्तै विभिन्न स्टोरमा समेत अचार बिक्रीका लागि राख्ने योजना छ उनको ।
सोफी अहिले घरमै अचार बनाउँछिन् । यस काममा उनकी आमा र एक जना सहयोगीले साथ दिँदै आएका छन् । माग धेरै आइरहेको तर गुणस्तर पनि कायम राख्नुपर्ने भएकाले धेरै उत्पादन गर्न नसकेको बताइन् ।
सुरु–सुरुमा अचारबारे केही सुझाव पनि आएका रहेछन् । तर, अहिले अधिकांशले राम्रो भएको प्रतिक्रिया दिएका छन् । अरुले दिएको प्रतिक्रियालाई सुधार गर्दै लगेकै कारण अहिले सबैले मन पराएको उनको बुझाइ छ ।
नेपालसहित विदेशमा समेत अचार निर्यात गर्ने योजना बनाएकी सोफीले उपहारका रुपमा युरोप, अमेरिका, अस्ट्रेलिया, फ्रान्स लगायतका मुलुकमा पठाइसकेकी छिन् ।