काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी एवं यती समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको स्मृतिमा ‘आङछिरिङ शेर्पा मेमोरियल गल्फ टुर्नामेन्ट’ हुने भएको छ ।
यती एयरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा दोस्रोपटक आगामी मार्च ११ र १२ (फागुन २७ र २८) गते गोकर्ण गल्फ क्लबमा दुई दिने गल्फ प्रतियोगिता हुन लागेको हो । स्व. शेर्पाको तेस्रोे स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १ सय ८० खेलाडीले भाग लिने यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।
“पर्यटन व्यवसायी स्व शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौं, उहाँ आफैं पनि एक कुशल गल्फ खेलाडी हुनुहुन्थ्यो,” प्रवक्ता बर्तौैलाले भने ।
गतवर्ष फागुन २१ र २२ गते पहिलो गल्फ प्रतियोगिता भएको थियो । प्रत्येक वर्ष आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ टुर्नामेन्ट हुने यस अघि नै यती एयरलाइन्सले घोषणा गरिसकेको छ । साे प्रतियोगितामा रजिस्ट्रेसन शुल्कमार्फत संकलन भएको रकम सोही समय मै गैरनाफामुखी एवं समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एयरलाइन्सले घोषणा गरेको छ ।
प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिला तर्फको बिजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियर तर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै हेलिकप्टर राइडसँग ३ लाख रूपैयाँ धनराशि बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताहरुले यती ग्रुपकै सञ्चालमा रहेको विभिन्न कम्पनी तथा रिसोर्टहरु तथा निकटका संस्थाहरुले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् । सम्पूर्ण विधामा गरी करिब १३ लाख मूल्यबराबरको पुरस्कार वितरण हुनेछ ।
साे प्रतियोगितामा यती एयरलाइन्स, तारा एयर, हिमालय एयरलाइन्स, एल्टिच्युट एयर, यती माउन्टेन होम, मोक्ष मुस्ताङ रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, गुण एयरलाइन्स, कसरा रिसोर्ट र केर एण्ड डाउनी जस्ता प्रायोजक पार्टनर छन् ।
नेपालको पर्यटन विकास, प्रवर्द्धन तथा हवाई क्षेत्रको विकासमा निकै महत्वपूर्ण योगदान दिएका स्व। शेर्पाको यस क्षेत्रमा छुट्टै पहिचान छ । यती समूहका प्रबन्ध निर्देशक शेर्पाको २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको टोलीमा निधन भएको थियो ।