आज अन्तर्राष्ट्रिय नारी दिवस । नारी दिवसमा म सबै नारीहरुलाई आफू सक्षम हुनुहोस् भन्छु । आफ्नो खुट्टामा उभिनुहोस् भन्ने मेरो धारण छ । म आफू सक्षम हुन २० वर्षअघि ब्युटिसियनको काम सिकें । र, २ लाख रुपैयाँ लगानीमा काठमाडौंको सीतापाइलाबाट काम सुरु गरेँ ।“
६ वटा ब्रान्च खोलेकी भए पनि अहिले कलंकी, बानेश्वर र सूर्यविनायकमा गरी ३ वटा शाखा मात्रै सञ्चालनमा छन् । प्रत्येक शाखामा ३/३ जना ट्रेनिङ टिचर छन्, उनीहरुले पनि सिकाउँछन् । प्रत्यक्ष/परोक्ष गरी सयौंले रोजगारी पनि पाइरहेका छन् ।
सिकेका विद्यार्थीको रेकर्ड नराखेको भएर हाल सम्म कतिलाई ब्युटिसियनको काम सिकाएँ भन्ने ठोस तथ्यांक छैन । हाम्रो संस्था मायाजले सीटीईभीटीबाट मान्यता पाएको पनि ६/७ वर्ष भइसकेको छ ।
मेरा धेरैजसो विद्यार्थीले नेपालमै पार्लर खोलेर आफ्नै व्यवसाय गरिरहेका छन् । कतिपय बाहिर पनि गएका छन् । अहिले भन्नुपर्दा हामीकहाँ फ्रेस विद्यार्थी पनि छन् । र, सिकेर बाहिर जान्छु भन्ने पनि । यसबाहेक अस्ट्रेलिया, दुबई लगायतका देशबाट सिक्न आउनेहरु पनि छन् ।
मैले सुरुमा बेसिक लेबलको काम मात्रै नेपालमा सिकेँ । त्यसपछि भारत, थाइल्यान्ड र दुबई गएर सिकें । कोर्स पूरा भएपछि नेपालमै आएर सिकाउने काम गरिरहेकी छु ।
धेरैलाई जिज्ञासा होला, कस्तो–कस्तो कोर्स हुन्छ ब्युटिसियनसम्बन्धी ? कोर्स विभिन्न किसिमको हुन्छ । जस्तो; स्किनको अलग हुन्छ भने हेयरको अलग । हेयर स्टाइलमा हाम्रो संस्था अग्रणी मानिन्छ । म आफैं पनि हेयर स्टाइलसम्बन्धी रसिया गएर सिकिरहेकी हुन्छ । यसैले पनि होला, सौन्द्रर्य कला–व्यवसायमा मायाजलाई नचिन्ने सायदै कोही होलान् ।
पहिले– पहिले अशिक्षितहरु यो पेसामा लाग्छन् भनिन्थ्यो । तर, अहिले समय फेरिएको छ । शिक्षितहरु झन् बढी छन् यो पेसामा । मलाई के लाग्छ भने, अध्यय, अनुभव र सीप भएको खण्डमा यो क्षेत्रमा सजिलै अघि बढ्न सकिन्छ ।
अलिअलि सिकेर गर्ने भनेको टाइम पास मात्रै हो । त्यसले समय र पैसाको बर्बादी मात्रै हुन्छ । त्यसैले यो पेसामा लाग्ने हो भने पहिले राम्रोसँग सिक्न अनुरोध गर्छु ।
यो पेसामा धेरै चुनौतीहरु छन् । अरुलाई राम्री बनाएर राम्री देखाउनु नै सबै भन्दा ठूलो चुनौती हो । स्किनमा त झन् ठूलो चुनौती छ । हामीले प्रयोग गरेको क्रिममले कसैलाई केही भयो भने के गर्ने ? त्यसैले पनि आफूले राम्ररी सिक्नु त छँदैछ, साथै प्रयोग गर्ने सामान पनि गुणस्तरीय हुनुपर्छ ।
मेरो अनुभवमा पार्लरको काम पूर्णरुपमा सिक्ने हो भने कम्तीमा पनि २ वर्ष लाग्छ । त्यसपछि पनि नयाँ–नयाँ डिजाइन सिकिरहनुपर्छ । यस्तै पार्लर खोल्दा पनि राम्रै लगानी गर्नुपर्छ । त्यसैले खोल्नु मात्रै पनि ठूलो कुरा होइन । खुलेकालाई टिकाउन सक्यो भने यो क्षेत्रमा राम्रो भविष्य छ । तर, प्रशस्त ज्ञान र सीप यो क्षेत्रको पहिलो सर्त हो ।
कोरोनाले गर्दा यो पेसामा ठूलो असर गर्यो । लकडाउनमा धेरैले घरमै सुतेर बिताउनु भयो । तर, मैले यसलाई अवसरको रुपमा प्रयोग गरें । प्रविधिको प्रयोग गर्दै भिडियोको मध्यमबाट सिकाएँ ।
पहिले पहिले यो पेसाप्रति नकारात्मक धारणा थियो । अहिले सीटीईभीटीले नै यो विषयमा पढाउन थालिसकेको छ । हरेक घरमा एउटा न एउटा पार्लरको काम नसकेको कमै भेटिन्छन् ।