काठमाडौं । अधिकांश नेपाली युवाहरु प्लस टु वा स्नातकसम्मको अध्ययनपश्चात् विभिन्न विषयमा थप अध्ययनका लागि युरोप, अमेरिका र जापानजस्ता देशमा जाने क्रम दिन–प्रतिदिन बढिरहेको छ । त्यसका लागि काठमाडौंका चोकचोकमा कन्सल्टेन्सी खुलेका छन् ।
इन्जिनियरिङ, विज्ञान, सूचना प्रविधि, अर्थशास्त्र, व्यवस्थापन, चिकित्साशास्त्र वा कला÷साहित्य अध्ययनका लागि धमाधम जनशक्ति पलायन भइरहेका छन् । उनीहरुमध्ये अधिकांशको गुनासो, नेपालमा कुनै पनि सम्भावना छैन भन्ने छ ।
जसले नेपालमै बसेर केही गरेका छन्, वा भनौं स्टार्टअर्पमा लागेका छन्, यो त्यति सजिलो छैन । र, चुनौतीपूर्ण पनि । त्यसमाथि महिलाले व्यवसाय स्थापना र सञ्चालन गर्ने विषयमा त झन् बढी चुनौती र जोखिम छन् । यी सबका बाबजुद पनि महिला उद्यमशीलता विकास नै नभएको भने होइन ।
महिला उद्यमशीलतामा जोडिएकी एक युवा पात्र हुन्, सदीक्षा ओझा । काठमाडौं म्यानेजमेन्ट कलेजबाट बीबीए गरकी उनले करिब २ वर्षअघि आफ्ना ३ जना साथीहरुसँग मिलेर ’वर्क हब’ नामक सूचना प्रविधिसम्बन्धी व्यवसाय सञ्चालन गरिन् ।
महेन्द्रनगर पुख्र्यौली घर भए पनि ओझा हाल काठमाडौंकै स्थायीवासी हुन् । २६ वर्षीय ओझा व्यवसायसँगै किंग्स कलेजबाटै मास्टर डिग्रीसमेत गरिरहेको बताउँछिन् ।
कम्पनीले सूचना प्रविधिको क्षेत्रमा फ्रिलान्सरको रुपमा काम गर्न चाहने जोकोहीलाई प्लाटफर्म उपलब्ध गराउँदै आइरहेको छ । सुरुवाती चरणमै ५ सयभन्दा बढी सूचना प्रविधिको क्षेत्रमा काम गर्ने व्यक्तिहरु कम्पनीको सञ्जालभित्र जोडिएका छन् ।
सफ्टवेयर डेभलपमेन्ट, वेब पेज डिजाइन, वेब होस्टिङ गर्ने प्राविधिक जनशक्ति कुनै पनि कम्पनीमा आबद्ध नभई स्वतन्त्रपूर्वक काम गर्न चाहनेलाई कम्पनीले आफ्नो प्लाटफर्ममार्फत उनीहरुले विकास गरेको प्रोडक्ट बिक्री गर्न वा कम्पनीको अवधारणानुसार काम गर्न सहजीकरण गर्छ ।
जागिर खाने वा विदेश जानेभन्दा पनि नेपालमा नै उद्यमशीलता विकास गरौं भन्ने हुटहुटी बढ्यो । जसले गर्दा साथीहरु मिलेर प्राइभेट कम्पनीको रुपमा दर्ता गरी सानो पुँजीबाट उक्त व्यवसाय सुरु गरेको ओझाको भनाइ छ ।
त्यसो त लामो समयको बजार अनुसन्धान र त्यसको कानुनी पाटो अध्ययन गरी व्यवसाय विकास गरेको उनी बताउँछिन् । आफ्नो डिग्रीको अन्तिम ६ महिना थाइल्यान्डमा इन्टर्नसिप गर्दादेखि नै आफू विदेश नजाने र नेपालमा नै केही गर्ने निर्णय गरेकी थिइन् । त्यहाँबाट फर्किएपछि साथीसँग मिलेर उनले व्यवसाय सुरु गरिन् । त्यसमाथि कोभिड १९ का कारण जारी गरिएको प्रतिबन्धात्मक गतिविधि उनका लागि अवसर बन्यो ।
’ट्राभल रेस्ट्रिक्सनका कारण घरबाट बाहिर निस्किन नसकिरहेको अवस्थामा सूचना प्रविधिका क्षेत्रमा काम गर्नेहरुलाई आफूहरुले प्लाटफर्म उपलब्ध गराउन सफल भयौं । जुन हाम्रा लागि अवसर बन्यो’ उनले एकै सासमा सुनाइन् ।
हाल वेबसाइटमार्फत नै फ्रिलान्सरहरु कम्पनीमा जोडिइरहेका भए पनि एप्लिकेसन (एप्स) ल्याउने तयारीमा उनको कम्पनी छ ।
’हाम्रा साथीहरुले बनाउनुभएको प्रोडक्ट विदेशी कम्पनीलाई बेच्नुपर्ने हुन्छ’, उनी भन्छिन्, ‘प्रोडक्ट बेच्न नेपालको पुँजी खाता बन्द रहेकाले समस्या छ । यसमा सरकारले सहजीकरण गरे हुन्थ्यो ।’
नेपालमा झन्झटिलो कर्जा प्रक्रियाबाट उनी पनि आजित भएकी रहिछिन् । ’सरकारले महिला उद्यमशीलता विकास कर्जालगायत युवा उद्यमीका लागि विभिन्न कर्जाको व्यवस्था गरेको छ । तर, प्रक्रिया निकै झन्झटिलो भएका कारण पाउन कठिन हुने रहेछ’ उनले सुनाइन् ।
आफूले नयाँ अवधारणामा काम गरिरहेकाले कतै भोलिका दिनमा मान्यता नपाउने हो कि ? विवाद आउने पो हो कि ? भन्ने विषयमा उनी सचेत छिन् । किनकि, यस्तै समस्या नेपालका राइडर कम्पनीहरुले भोगिरहेका थिए ।
उनीहरुले आफ्नै एप्स विकास गरी निश्चित कमिसन लिएर बाइक राइडरमार्फत सस्तो, सुलभ र भरपर्दो सेवा मात्रै होइन हजारौं युवालाई रोजगारीसमेत दिइरहेका थिए ।
तर, काठमाडौंका ट्याक्सी चालकको सिन्डिकेटमाथि प्रहार भएको भन्दै उनीहरुले पठाओ र टुटलविरुद्ध आन्दोलन नै छेडेका थिए ।
फ्रिलान्सर र आफ्नो कम्पनीलाई यस्तो समस्या नआओस् भन्ने उनको चाहना छ ।
१ लाखबाट सुरु भएको वर्क हब कम्पनीको पुँजी आज २५ लाख हाराहारी पुगिसकेको छ ।
फ्रिलान्सरले विकास गरेको प्रविधिमा कमिसन र आफ्नो कन्सेप्टमा काम गर्नेलाई पारिश्रमिक भुक्तानीको मोडलमार्फत उनको कम्पनीले काम गरिरहेको छ ।
अहिले उनको कम्पनी सुरुवाती चरणमै छ । यद्यपि सबै खर्च कटाएर पनि राम्रै मुनाफा कमाइरहेको र त्यसमा आफू सन्तुष्ट रहेको उनको भनाइ छ ।
फ्रिलान्सरहरु जोडिदै जाँदा आफ्नो कम्पनी अझै ठूलो बन्दै जाने र सूचना प्रविधिको क्षेत्रमा काम गर्नेका लागि बलियो प्लाटफर्म बन्नेमा ओझा आशावादी छिन् ।