काठमाडौं । नेपालमा युवा उद्यमीको संख्या दिन–प्रतिदिन बढ्दो छ । पितृसतात्मक सोचबाट विस्तारै परिवर्तन हुँदै गएको नेपाली समाजमा महिला उद्यमीको संख्या पनि बढी नै रहेको छ ।
यही भीडमा जन्मिएकी युवा उद्यमी हुन्, प्रार्थना शाख ।
प्रार्थना भर्खर २६ वर्षकी भइन् । तर, काम र पदका रुपमा उनी फाइनान्सिङ एप ‘टीग एप’ की को–फाउन्डर हुन् । यो बीआईसी टेक्नोलोजीद्वारा सञ्चालित छ । यो एपले अकाउन्टको काम गर्न सहज बनाउने प्रार्थनाको भनाइ छ ।
उनले यसअघि पनि हेल्मेट नेपालमा ५ वर्षसम्म को–फाउन्डरको भूमिका निर्वाह गरेकी थिइन् । त्यहाँ कार्यरत रहँदा महिलाले एकाउन्टिङको काम गर्दा धेरै झन्झट व्यहोर्नुपरेको महसुस गरिन् । आफूलाई एकाउन्टको काम झन्झटिलो लागेको र अरुले पनि त्यस्तै अनुभव सुनाउँदा ‘यसको पनि समाधान गर्ने कुनै माध्यम भइदिए हुन्थ्यो’ भनेर सोच्न थालिन् ।
नभन्दै उपाय जन्मियो । उनले साथीहरुको सहकार्यमा ‘टिग’ एप सञ्चालनमा ल्याइन् । विगत २ वर्ष देखिको प्रयासलाई करिब ५ महिनाअघि मूर्त रुप दिएको प्रार्थना बताउँछिन् ।
बीबीएको पढाइ पूरा गरेकी उनले समाजशास्त्रमा पनि मास्टर्स गरेकी छन् । १० जनाको टिममा सञ्चालनमा आएको उक्त एपका अहिले ३ सयभन्दा बढी सक्रिय प्रयोगकर्ता छन् ।
उनको अनुभवमा विभिन्न उद्यमी तथा व्यवसायीहरुलाई धेरै गाह्रो लाग्ने काम हो, फाइनान्सिङ । सोही विषयलाई सजिलो बनाउने काम टिगले गरिरहेको छ । विषेश गरी नेपालमा साना तथा मझौला उद्यमलाई डिजिटलाइजेसनको फाइदा उठाउन सहयोग पुर्याउने उद्देश्यले उक्त एप सञ्चालनमा ल्याएको उनी बताउँछिन् ।
प्रार्थना भन्छिन्, ‘टिग एप फाइनान्सिङ क्षेत्रका लागि सञ्चालनमा आएको नेपालकै पहिलो एप हो । यसकारण पनि प्रयोगकर्ताको प्रतिक्रिया सकारात्मक आएको छ ।’
१० जना सदस्य रहेका प्रार्थनाको टिममा डेभलपर्स, सीएहरुको संलग्नता छ । एपमा संयुक्त रुपमा २ करोड ५० लाख रुपैयाँभन्दा बढी लगानी रहेको उनले बताइन् ।
विभिन्न झन्झटिला सूत्रलाई एकातिर पन्साउँदै एपमार्फत अकाउन्टिङसम्बन्धी सम्पूर्ण काम सजिलोसँग गर्न सकिने प्राथना बताउँछिन् । क्यापिटल नेपालसँग कुरा गर्दै उनले भनिन्, ‘यो एप फेसबुकजस्तै सजिलोसँग चलाउन सकिन्छ । र, अकाउन्टसम्बन्धी दैनिक काम पनि सजिलो गरी गर्न सकिन्छ ।’ उक्त एप कानुनी रुपमा दर्ता भएकाले कर तिर्नेदेखि हरेक काम एपबाटै गर्न सकिने प्रार्थनाको भनाइ छ ।
५ महिनापहिले टिग एप सञ्चालनमा ल्याएका उनीहरुले अहिले अकाउन्टिङसम्बन्धी मोडलको तयारी गरिसकेका छन् । यस्तै उनको टिमले अन्य नयाँ मोडल पनि लन्च गर्ने तयारी गरेको छ । ‘निकट भविष्यमा म्यानुफ्याक्चरिङ एवं वर्क सोका मोडल पनि सार्वजनिक गर्ने हाम्रो योजना छ’ उनले भनिन् ।
नेपालमा टिग एपको लोकप्रियता बढेसँगै विदेशबाट समेत एप सञ्चालनका लागि अनुरोध गर्नेको संख्या बढेको उनको टिम बताउँछ । यद्यपि उनीहरुले तत्कालै विदेशमा एपको विस्तार गर्ने योजना भने बनाएका छैनन् ।
‘हामी एप विस्तारकै क्रममा छौं । अहिले अस्ट्रेलिया, थाइल्यान्डबाट पनि एप सञ्चालन गर्नुपर्यो भन्नुभएको छ । तर, पहिले नेपालमै विस्तार गरी केही वर्षपछि मात्रै अन्तर्राट्रिय बजारमा जाने प्लान छ’ शाखले भनिन् ।