काठमाडौं । रुस– युक्रेन युद्धका कारण अमेरिकी डलर झनै महँगिएर नयाँ रेकर्ड कायम भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले १ डलर बराबर १२३.४४ रुपैयाँ बिक्री दर तोकेको छ ।
डलरको यो मूल्य हालसम्मकै उच्च हो । राष्ट्र बैंकले सोमबारका लागि बिक्रीदर १२२ रुपैयाँ १६ पैसा तोकेको थियो । एकै दिन नेपाली रुपैयाँ १.२८ रुपैयाँले कमजोर भएको छ । पछिल्लो साता नेपाली रुपैयाँ डलरसँग झनै कमजोर बनेको छ ।
भारतीय रिजर्भ बैंक (आरबीआई) ले १ डलरबराबर ७६.९७ भारु तोकेको छ । भारु कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएकाले भारु बलियो भए नेपाली रुपैयाँ मजबुत र कमजोर भए रुपैयाँको अवमूल्यन हुने गरेको छ । भारतीय अर्थतन्त्र कमजोर भएको र पछिल्लो समय डलरसँग भारुको निरन्तर अवमूल्यन भएको छ ।
यस्तै अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा पुनरावलोकन गर्ने भनेको छ । हालको ०.२५ प्रतिशत ब्याजदरलाई बढाउने तयारी फेडरल रिजर्भको छ ।
फेडरल रिजर्भले ब्याजदर बढाएमा भारतलगायत अन्य उदयिमान अर्थतन्त्रमा भएको लगानी अमेरिकामा फिर्ता जाने भएकाले विश्व बजारमा डलर झनै मजबुत हुने जोखिम छ । जसले गर्दा यसको असर नेपाल जस्ता साना र गरिव मुलुकको अर्थतन्त्रका साथै जनताको भान्सासम्म पुग्ने छ ।
राष्ट्र बैंकका अनुसार २०७६ चैत ४ गते डलरको मूल्य बढेर १२३ रुपैयाँ २८ पैसासम्म पुगेको थियो । त्यसपछि पनि डलरको भाउमा उतारचढाव आएको थियो । रुसले युक्रेनमाथि हमला गरेपछि डलर झन मजवुत भएको राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्ट बताउँछन् ।रुस–युक्रेन युद्धका कारण भारु अवमूल्यन भएपछि नेपाली रुपैयाँ कमजोर भएको उनको भनाइ छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाको अर्थतन्त्र थप मजवुत हुन गएको छ । यसले डलर झनै बलियो बनाउन सघाउ पुर्याएको छ । डलर मात्र हैन अहिले विश्व बजारमा कच्चा तेल, सुनलगायत अन्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ ।
डलर महँगो हुँदाको फाइदा
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन् । पछिल्लो समय रेमिट्यान्स आप्रवाह कम भएकाले यसले बढाउन सघाउ पुर्याउने देखिन्छ । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्राको सञ्चिति वृद्धिमा सघाउ पुग्ने छ ।
आयात बढेर अहिले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको छ । रेमिट्यान्स बढेपछि विदेशी मुद्रा सञ्चिति केही बढ्ने छ । पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रले उठ्ने प्रयास गरिरहेको छ । डलर महँगो हुँदा निर्यातकर्तालाई फाइदा हुन्छ । वस्तु निर्यात गर्ने उद्योगी व्यवसायीलाई फाइदा हुन्छ । विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाएमा उद्योगीले बढी नाफा कमाउन अवसर पाउने छन् ।
बेफाइदा
डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बढी बेफाइदा हुन्छ । डलर महँगो भएपछि बजार भाउ बढ्छ । आयात गरिने वस्तु महँगो हुन्छ । पेट्रोलियम पदार्थको भाउ झनै बढ्ने छ । यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको लागतमा पनि वृद्धि हुनेछ । डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । डलर महँगो भएपछि नेपालले तिर्नुपर्ने दायित्व बढी हुनेछ ।
यसैगरी विदेशी कम्पनीहरूले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश विदेशमा लैजानेलाई फाइदा हुनेछ । डलरमा बिजुली किन्दा नेपाल विद्युत प्राधिकरणले बढी दर तिर्नुपर्छ । विदेशीमा अध्ययन गर्न, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई डलरको भाउ बढेपछि असर पार्ने छ ।