काठमाडौं । नाजायज माग तेर्साएर उपभोक्तामाथि गम्भिर खेलवाड गर्दै पेट्रोलियम व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन् । अत्यावश्यक वस्तुको आयात रोक्न कानुनत बन्देज लगाएको बेला पेट्रोलियम पदार्थ ढुवानी र बिक्री वितरण गर्दै आएको तीनवटा संगठनले त्यसको बर्खिलापमा आन्दोलनको घोषणा गरेका हुन् ।
राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले नेपाल आयल निगमलाई ६ बुदे माग राख्दै चरणबद्ध आन्दोलनका घोषणा गरेका हुन् । समितिको निर्णयअनुसार चैत ६ गतेबाट सम्पूर्ण एलपी ग्याँस उद्योगहरुले आयल निगमबाट पिडिओ खरिद नगर्ने, चैत्र १० गतेबाट सम्पूर्ण एलपी ग्यास उद्योगहरुले भारतका सबै रिफाईनरीहरुबाट एल ग्यास लोड बन्द गर्ने,१४ गतेबाट सम्पूर्ण एलपी ग्याँस उद्योगहरुले सबैै नाकाहरुबाट भन्सार छुटाउने कार्य नगर्ने जनाएको छ ।
यस्तैै १६ गतेबाट राज्यभरका पेट्रोलियम पदार्थको ढुवानी टैंकरहरुले पिडिओ नलिने, १७ गतेबाट एलपी ग्याँस उद्योगहरुबाट बिक्रेताहरुलाई बिक्री वितरण बन्द गर्ने र १८ गतेबाट पेट्रोलियम ढुवानी टैंकरहरुले लोडिङ÷अनलोड बन्द गर्ने र विक्रेताहरुले निगमको डिपोबाट पेट्रोलियम पदार्थको खरिद बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
यस्तै २० गतेसम्म पनि मागहरु माथि सुनुवाई नभए एलपी ग्याँस उद्योग र ग्याँस विक्रेताहरुले ग्याँस बिक्री बन्द गर्ने, पेट्रोलियम ढुवानी टैंकरहरुले ढुवानी कार्य बन्द गर्ने तथा पेट्रोलियम विक्रेताहरुले बिक्री स्थल एवं पेट्रोलियम पदार्थको बिक्री वितरण बन्द गर्ने जनाएको छ ।
राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पेट्रोलियम ऐन नभएको हुँदा तत्काल पेट्रोलियम ऐेन बनाई लागू गर्नुपर्ने, निगमको एलपीजी विनियमावली, विक्रिेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायी संस्थाको प्रतिनिधि सहितको सहभागीतामा परिमार्जनसहित संशोधन गर्नुपर्ने, ढुवानी भाडा र कमिशन बढाउनुपर्ने लगाएतका मागहरु राख्दै आएका छन् ।
पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको तीनवटा सस्थाहरु नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका तर्फबाट अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहरा र नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले हस्ताक्षर गरेका छन् ।