काठमाडाैं । कोकाकोलाले नेपालका लागि आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर ‘सक्षम’ कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमअन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घरहरू सञ्चालन गर्दै आएका १ हजार महिला व्यवसायीलाई व्यावसायिक तालिम दिने योजना रहेको छ ।
अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को नारा ‘दिगो भविष्यका लागि आज लैङ्गिक समानता’ भन्ने नारालाई समर्थन गर्दै यो कार्यक्रममा महिलाहरूलाई व्यापारिक र आर्थिक रुपमा सक्षम बनाउने योजना राखिएको छ ।
यो कार्यक्रमले महिलाहरूलाई त्यस्तो ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेको छ जसले उनीहरूलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्दै समग्रमा राष्ट्रकै आर्थिक विकासमा सहयोग पुर्याउन सक्षम बनाउँछ । त्यसैले यो कार्यक्रम यस्ता पसल सञ्चालन गर्ने महिलाहरूको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई र डिजिटल वालेटको प्रयोग जस्ता विषयमा क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको हो ।
कोकाकोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी विश्वास गर्छाैं कि एउटा नारी सक्षम हुनु भनेको सम्पूर्ण राष्ट्र नै सक्षम हुनु हो । त्यसैले हामीले महिलालाई सक्षम बनाउने उद्देश्यले पहिला पनि स्टार र ५/२० जस्ता कार्यक्रमहरू सञ्चालन गरेका थियौं र ती कार्यक्रमहरूले उहाँहरूको जीवनमा सकारात्मक परिवर्तन पनि ल्याउन सफल भएका थिए, जुन हाम्रो लागि खुसीको कुरा हो ।’
महिला सशक्तिकरणसम्बन्धी यस्तै कार्यक्रमहरू सञ्चालन गर्ने अभियानअन्तर्गत यो वर्ष हामीले नेपालभरि साना किराना पसल र खाजा घरहरू सञ्चालन गर्दै आइरहेका १ हजार महिलालाई व्यावसायिक तालिम दिँदै र्छौँ । हामीलाई आशा छ कि यो कार्यक्रममा सहभागी महिलाहरूको जीवनमा पनि प्रभावकारी परिवर्तन आउनेछ ।
बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने ‘नेपालको ग्रामीण तथा सहरी क्षत्रका धेरैजसो किराना पसल र खाजा घरहरू प्रायः महिलाहरूले नै चलाएका छन् । र हामीले के देखेका छौँ भने यो कोभिड महामारीले उनीहरूको व्यापारमा धेरै चुनौतीहरू ल्याएको छ । हामीलाई विश्वास छ कि यस कार्यक्रमले उहाँहरूलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्न सक्षम बनाउनेछ र उहाँँहरूको आत्मविश्वास पनि बढाउनेछ ।’
विविधता, समानता र समावेशीकरण कोकाकोलाको मूल मान्यता हो र यिनले कम्पनीको वृद्धि, विकास र सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । कोकाकोलाले वर्षौंदेखि सञ्चालन गर्दै आइरहेको महिला सशक्तीकरणसम्बन्धी विभिन्न कार्यक्रमहरूले पनि यसलाई पुष्टि गर्छ।