तनहुँ । बन्दीपुर गाउँपालिका–१ भैँसीगोठ खानेपानी योजनाको निर्माण पूरा भएको छ ।
गाउँपालिकाको आर्थिक सहयोग, स्थानीयवासीबाट संकलित रकम र जनश्रम व्यहोरेर उक्त योजना सम्पन्न गरिएको हो ।
विगत लामो समयदेखि कुवाको पानी बोकेरे खाने गरेका उक्त बस्तीको घरघरमा पानीको धारा पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।१९ लाख ६५ हजार रुपैयाँको लागतमा उक्त योजना सम्पन्न भएको भैँसीगोठ खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष सुस्मा कार्की शाहीले जानकारी दिइन् ।
उक्त योजनाका लागि बन्दीपुर गाउँपालिकाबाट ११ लाख ५० हजार, उपभोक्ताबाट संकलित ४ लाख ८५ हजार र ३ लाख ३० हजार रुपैयाँबराबरको जनश्रम व्यहोरिएको थियो । योजनाबाट ३४ वटा धारा निर्माण गरी खानेपानी वितरण गरिएपछि त्यस क्षेत्रका ५३ घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।
गाउँमा खानेपानीको धारा नहुँदा कुवाको पानी बोकेर ल्याउनुपर्ने बाध्यता अब आउँदा दिनमा नहुने उहाँले बताइन् । बस्तीदेखि कुवा टाढा रहेका कारण पानीका लागि एक जनशक्ति नै खटाउनुपर्ने बाध्यता यहाँका बासिन्दाको रहेको उपभोक्ता समिति सदस्य लक्ष्मी थापाले बताइन् । सोही वडास्थित खहरे खोल्सीको पानी लिफ्टिङ गरेर बस्तीमा पानी वितरण गरिएको हो । खोल्सीको पानी करिब ३०० मिटर उचाइमा लिफ्ट गरी ट्यांकीमा संकलन गरेर वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए ।
कुवाको पानी पिउन बाध्य यहाँका बासिन्दालाई सफा पानी खुवाउनका लागि बजेट उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । गाउँपालिकाले खानेपानी, स्वास्थ्य, शिक्षा, व्यावसायिक पशुपालन, तरकारीखेती र विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उनको भनाइ थियो।