काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६१.८ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजना स्वदेशी लगानीमा बन्ने भएको छ ।
आयोजना कोरियाको निर्यात–आयात (एक्जिम) बैंकको ऋण लगानीमा बन्ने तयारी भए पनि प्रक्रियागत कारणले ढिलाइ हुने भएपछि नेपाली लगानीमा बन्न लागेको हो ।
आयोजनामा एनएमबी बैंकको अगुवाइमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ऋण लगानी गर्न सहमत भएको विकासकर्ता मोदी जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक सूर्यप्रसाद पौडेलले बताए ।
पौडेलका अनुसार एनएमबी र एचआईडीसीएल ८ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्न सहमत भएका छन् । आयोजना बनाउन १२ अर्ब ५० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ । जसमध्ये ७० प्रतिशत अर्थात् ८ अर्ब ५० करोड ऋण र बाँकी ३० प्रतिशत अर्थात् ४ अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) बाट लगानी जुटाइने भएको छ ।
यो वर्ष लगानी जुटाएर आगामी आर्थिक वर्षमा आयोजनाको निर्माण थाल्ने योजना रहेको कम्पनीका प्रबन्ध सञ्चालक पौडेलले बताए ।आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गर्न विद्युत् प्राधिकरणमा निवेदन दिएको उनले जानकारी दिए ।
पीपीए भएपछि बैंकहरुसँग औपचारिक रुपमा ऋण लगानी सम्झौता हुने उनको भनाइ छ । प्राधिकरणले नदीको वहावमा आधारित आयोजनासँग पीपीए रोकेको छ ।
४२ मेगावाटको माथिल्लो र १९.८ मेगावाटको तल्लो गरी २ आयोजना अघि बढाउन कोरियाको एक्जिम बैंकसँग ऋण लिन प्रक्रिया अघि बढेको थियो । ऋण लिन विद्युत् प्राधिकरणले ऊर्जा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पत्राचार गरेको थियो ।
एक्जिम बैंकले लगानी गर्न चासो देखाएकाले औपचारिक रुपमा ऋण लिने प्रक्रिया अघि बढाएको उनको भनाइ छ । एक्जिमको ऋण सस्तो हुने भएकाले प्रक्रिया अघि बढाएको पौडेलले बताए ।
आयोजना इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) खाकामा निर्माण हुनेछ । दुवै आयोजना बेग्लै प्याकेजमा निर्माण हुने भएका छन् । जसअनुसार आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको जिम्मा प्रतिस्पर्धाबाट छनौट हुने ठेकेदारले पाउने भएको छ ।
४२ मेगावाटको माथिल्लो आयोजनाबाट बिजुली उत्पादन गरेर बाहिरिने पानीलाई पुनः सुरुङमा लगेर १९.८ मेगावाट बिजुली उत्पादन गर्ने कम्पनीको योजना रहेको छ । आयोजनाको प्रारम्भिक सबै काम पूरा भएकाले निर्माणको चरणमा जान लागेको छ । मोदीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ ।
कम्पनीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ रहेको छ । जसमा विद्युत् प्राधिकरणको ६८ प्रतिशत र बाँकी ३२ प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने योजना कम्पनीको छ । आयोजनाबाट वार्षिक ३१ करोड ५० लाख युनिट विद्युत् ऊर्जा उत्पादन हुनेछ ।
आयोजना सञ्चालमा आएको ८ वर्षमा ऋण चुक्ता गर्ने बताएको छ । माथिल्लो आयोजनाको सुरुङको लम्बाइ ६ र तल्लोको ४ किलोमिटर हुनेछ । दुवैको विद्युतगृह संरचना सतहमा हुने प्रस्ताव गरिएको छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली २१ किलोमिटर लामो प्रसारण लाइन हुँदै विद्युत् प्राधिकरणले प्रस्ताव गरेको १३२ केभी न्यू मोदी सब–स्टेसनमा जोडिनेछ ।
माथिल्लो आयोजनाको हेड २८६ र तल्लोको १३५ मिटर रहेको छ । आयोजना कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ । यसअघि कोरिया वाटर रिसोर्स कर्पोरेसन (के–वाटर) बनाउने प्रस्ताव गरेको थियो ।
के वाटरलाई पत्राचार गरी ५१ प्रतिशत सेयर लिने प्रस्ताव गरेको थियो । के वाटरपछि हटेपछि प्राधिकरणले सहायक कम्पनीमार्फत अघि बढाएको हो । आन्तरिक खपतका लागि आयोजना निर्माण हुन लागेको हो ।