पर्वत । सिसैसिसाले बारिएको आकाशे पुल (स्काइब्रिज) यहाँ सञ्चालनमा ल्याइएको छ । कुस्मा बजारस्थित कालीगण्डकी नदीको खोंचमा बनाइएको स्काइब्रिज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले साेमबार उद्घाटन गरे।
कुस्मास्थित हार्नेस जिपलाइन प्रालिले टिकटक पारखीका लागि लक्ष गरेर मुलुकमै पहिलो पटक यस्तो पुल निर्माण गरेकोे कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए। कालीगण्डकी नदीको सतहदेखि झण्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भिरको दृश्य छर्लङ देखिन्छ । तल हेर्दा डर लाग्नाका साथै आनन्द पनि लिन सक्नेगरी पुल बनाइएको हो ।
एकैपटकमा १ सय जनासम्मले स्काइब्रिजको वारपार गर्नसक्ने उनको भनाइ थियो । पुल ३५ फिट लामो र ११ फिट चौडा छ । “हामीले नेपालका लागि पहिलो सिसाको पुल बनाएका हौं”, उनले भने, “अहिले युवाको आकर्षण टिकटकमा भएका कारण यसले टिकटक बनाउन युवायुवतीलाई आकर्षण गर्ने विश्वास लिएका छौं ।”
स्काइब्रिजमा पसेर नाच्न र गाउन पनि सकिने छ । अहिले निर्माण भएको छोटो स्काइब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविश्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको निर्देशक बस्नेतले बताए। स्काइब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन र विश्वकै दोस्रो अग्लो बञ्जी तथा विश्वकै अग्लो स्वीङसँगै छ ।
हार्नेस प्रालिले कुस्मा बजारमा नै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ । आइतबारदेखि सञ्चालनमा आएको स्विङमा पहिलो दिनमा नै २० जोडीले मज्जा लिएको उनको भनाइ थियो ।कम्पनीले यसअघि विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन पनि सञ्चालनमा ल्याएको छ ।
अहिले जिपलाइनमा बालबच्चादेखि ८० वर्षे वृद्धसम्मको आकर्षण छ । पोखरा र अन्य ठाउँबाट पनि धेरै पर्यटकले जिपलाइनमा आउने इच्छा गर्दै समय बुक गराउनेक्रम बढिरहेको प्रबन्ध निर्देशक सुनिलसिंह बानियाँले बताए।
“बन्जी, स्विङलगायत साहसिक खेलभन्दा जीपलाइनमा केही कम डर हुने अनुभव जीपलाइनमा बगेकाले सुनाएका छन् । जीपलाइनप्रति उनीहरुको धारणा कस्तो रह्यो भन्नका लागि हरेक जनासँग सोध्ने गरेका छौं”, उनले भने । जिपलाइनका लागि ३ हजार ५ सय रूपैयाँ शुल्क तोकिएको छ ।
कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुवाती गति प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्छ । १ हजार ४८० मिटरको दूरी पार गरिसक्दा नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जीपलाइन ल्यान्डिङ हुन्छ । रासस