काठमाडौं । टिकट र भिसाबिना जहाजसम्मै एक व्यक्ति पुगेकोबारे छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ।
गृह मन्त्रालयमा समितिका संयोजक तथा अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले प्रतिवेदन गृहमन्त्री खाणसमक्ष पेस गरेका हुन्।
गत फागुन ९ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पासपोर्ट र भिसा नभएको एक व्यक्ति पुगेका थिए। हवाइजहाजको टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर जहाजसम्म पुगेपछि सुरक्षाबारे चर्चापरिचर्चा भएको थियो।
गृहमन्त्रीस्तरीय निर्णयबाट फागुन १३ गते समिति गठन भएको विमानस्थल सुरक्षा अवस्था तथा सुधारका उपायहरू सम्बन्धमा सिफारिस गर्न भन्दै समिति गठन भएको थियो।
समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक बेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप–अनुसन्धान निर्देशक विष्णमणि आचार्य, हवाई सुरक्षा निर्देशक बासुदेव भट्टराई, नेपाल बायु सेवा निगमका निर्देशक अनिल घिमिरे, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल तथा गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य थिए।
समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताए। ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विभिन्न निकायको तालमेल हुन्छ। तसर्थ कार्यान्वयनका लागि पनि सबै निकायको तालमेल चाहिन्छ,’ गृहमन्त्री खाणले भने, ‘सबैसँगको तालमेलमा रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढ्छ।’
उनले विमानस्थलभित्र एक व्यक्ति छिरेर जहाजमै पुग्नु संवेदनशील भएको भन्दै पर्यटन, अर्थसहितको सल्लाहमा दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए।