काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले जलविद्युत कम्पनीहरुको प्राथमिक सेयर (आईपीओ) निष्कासन खुलाउन माग गरेको छ ।
इप्पानको प्रतिनिधिमण्डलले आइतबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई भेटी २५ वटा जलविद्युत कम्पनीको आईपीओ निष्कासन खुलाउन माग गरेको हो । इप्पानले आईपीओको अनुमतिका लागि आवेदन दिएर पाइपलाइनमा रहेका २५ ओटा जलविद्युत कम्पनीहरुको सम्बन्धमा बोर्डले लामो समय भइसक्दा पनि अनुमति नदिएको गुनासो इप्पानको थियो ।
इप्पानका तर्फबाट कार्यसमिति सदस्य उत्तमब्लोन लामा र प्रकाशचन्द्र दुलाल एक दर्जनभन्दा बढी ऊर्जा उद्यमीसहित सेवन जलविद्युत कम्पनीहरुको आईपीओको सम्बन्धमा सेवन अनिर्णयको बन्दी बन्दा निर्माणाधीन जलबिद्युत आयोजनाहरु गम्भीर प्रभाव परेको कार्यसमिति सदस्य लामा र दुलालले अध्यक्ष हमालको ध्यानाकर्षण गराएका थिए ।
उनीहरुले आईपीओ जारी नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनााहरुको कार्य ठप्प हुन थालेको र निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरुको समेत रकम अभावका कारण काम रोक्नुपर्ने अवस्था श्रृजना भएको पनि अध्यक्ष हमाललाई जानकारी गराएको इप्पानले जनाएको छ ।
आयोजनाहरुको काम यसरी प्रभाबित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरु नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौतीहरु थपिँदै जाने संकेत देखिन थालेको सेवनलाई इप्पानले दिएको निवेदनमा उल्लेख गरेको छ ।
त्यस्तै आयोजना समयमै सम्पन्न हुन नसक्दा देशलाई १० बर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का लाग्ने, राज्य र लगानीकर्ताहरुको अर्बौ रुपैयाँको नोक्सानी हुने र यसबाट बैंक लगानी जोखिममा पर्ने इप्पानले जानकारी गराएको छ ।
ऊर्जा उद्यमीहरुको धारणा सुनेपछि बोर्डका अध्यक्ष हमालले सेवन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकाल कार्यक्षमता पूर्णरूपमा प्रयोग गर्ने बताउँदै जलबिद्युत क्षेत्रको आईपीओको समस्या तत्काल समाधान गर्ने पनि प्रतिबद्धता जनाए ।
पुँजीबजारको विकास, विस्तार र विश्वसनियताका लागि जलविद्युत क्षेत्रको साथ र सहयोग आवश्यक हुने भन्दै उनले यो क्षेत्रको निरन्तर सहयोग आग्रहसमेत गरे।