विराटनगर । विराटनगरको सप्तकोसी डेभलपमेन्ट बैंकका दुई कर्मचारी धरौटीमा छुटेका छन् । बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका साेही बैंकका सीईओ नवीन सुवेदीसहित ३ जनालाई पुर्पक्षका लागि मोरङ कारागार चलान गरिएको छ ।
विराटनगर उच्च अदालतकाे आदेशानुसार बैंकको सेवा विभागका वरिष्ठ सहायक होमप्रसाद पौडेल २ लाख र बैंकका अपरेसन प्रमुख अमित थापा जनही २ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । साेही प्रकरणमा ७ जना फरार सूचीमा छन् ।
विराटनगरका उच्च अदालत सूचना अधिकारी ओमराज सुवेदीका अनुसार उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको इजालसले बैंकका तत्कालीन सीईओ नवीन सुवेदीसहित लेखा प्रमुख देवीप्रसाद भण्डारी र जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बैंकिङ कसुर मुद्दामा सीईओ सुवेदीसहित ७ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । फरार ७ प्रतिवादीलाई अदालतले ३५ दिनको म्याद जारी गरेको सूचना अधिकारी सुवेदीले जानकारी दिएका छन् ।
फरार हुनेमा बैंकका कार्यालय सहयोगी चूडाबहादुर निरौला, बैंकको कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, बैंकका कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, खातावाला बबिता बस्नेत, मनोज भट्टराई, वरिष्ठ सहायक शुभेच्छा निरौला, र कमल दाहाल छन् ।
साे बैंकका ९ कर्मचारी र ३ खातावाला गरी १२ जनाविरुद्ध उच्च अदालत विराटनगरमा यही फागुन १० गते मंगलबार मुद्दा दायर भएको थियो ।
ट्राफिचोकस्थित बैंकको कार्यालयबाट रेमिटेन्सको १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको पुष्टि भएपछि सीईओ सुवेदीसहितका कर्मचारी पक्राउ परेका थिए । सप्तकोसी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७० लाख हिनामिना भएको थियो ।
बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको भन्दै नेपाल राष्ट्र बैंकमा मुद्दा परेपछि अनुसन्धान सुुरु भएको थियो । उनी सीईओ सुवेदीकी नातेदार हुन् ।
प्रदेश नम्बर–१ को सात जिल्लामा ३६ शाखा कार्यालय रहेको सप्तकोसी बैंकको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ । सन् २०१६ देखि २०२१ अगस्ट २ मा बबिताको नाममा रहेको प्राइम बैंकको खाता नम्बर ९९९००००१५००१५ बाट १४ करोड गैरकानुनी ढंगबाट निकालिएको खुल्न आएको थियो ।