बैतडी । संयुक्त अनुगमन टोलीले जिल्लामा बजार अनुगमनलाई निरन्तरता दिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गत सातादेखि सुरु भएको अनुगमन कार्यलाई निरन्तरता दिइएको हो ।
जिल्लाको श्रीभावर, ढोल्यामोड, मोतीनगर, डिलासैनी क्षेत्रका बजारमा अनुगमन गर्दा २४ व्यापारीलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । डिलाशैनी क्षेत्रका आठ र बाँकी अन्य बजारका १६ गरी २४ व्यापारीलाई जरिवाना गरिएको हो ।
उनीहरुबाट ९० हजार रुपैयाँ जरिवाना असुल र ४५ हजार रुपैयाँ मूल्यबराबरको म्याद नाघेका सामग्री नष्ट गरिएको उनले बताए । उनले भने, “पहिलोपटक अनुगमन गर्दा सचेत गराउँछौं । दोस्रोपटक पनि उपभोक्ता हितविपरीत सामग्री बिक्री वितरण गरिएको पाइए जरिवाना गर्ने गरेका छौं ।”
अनुगमन टोलीले सात पसलबाट खाद्यवस्तुको नमुनासमेत लिइएको छ । अनुगमनका क्रममा म्याद नाघेको हो कि होइन भनेर थाहा हुन नसकेको चामल, दालको नमुना सङ्कलन गरिएको हो । उक्त सङ्कलित नमुना परीक्षणका खाद्य प्रविधि प्रयोगशाला पठाउने र अखाद्य निस्किए जरिवाना गरिने कार्यालयले जनाएको छ ।
सूचना अधिकारी भारतीका अनुसार कालोबजारी, म्याद नाघेका सामग्री बढी बिक्री वितरण भएको गुनासो आउने गरेकाले बजार अनुगमन कार्यलाई निरन्तरता दिइएको हो । टोलीले व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न तथा उपभोग्य मिति र लेबल हेरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिने र अनुगमनले व्यापारी र उपभोक्ता दुवै सचेत गराउन मद्दत पुग्ने विश्वास गरिएको छ । यसअघि गौरा र दसैं–तिहार लक्षित गरिएको बजार अनुगमनका क्रममा २ लाख ५० हजार रूपैयाँ मूल्यबराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरिएको थियो ।