एजेन्सी । रुस–युक्रेनबीच जारी युद्धको विश्वका थुप्रै मुलुकहरुले रुसको भत्र्सना गर्दै विभिन्न किसिमका प्रक्रिया दिएका छन् । रुसलाई युक्रेन संकटको जिम्मेवार मान्दै धेरैजसो अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरुले रुससँग विभिन्न प्रतिबन्ध लगाउन थालेका छन् ।
विश्वविख्यात कम्पनी एप्पल र ठूलो कन्जुमर फोकस कम्पनी आईकेईएले रुसमा व्यापार र निर्यात बन्द गरेका छन् । साथै बीपी र सेलजस्ता ठूला ऊर्जा कम्पनीले पनि रुसका सरकारी कम्पनीसँग आफ्नो ज्वाइन्ट भेन्चर बन्द गर्ने घोषणा गरेको छन् ।
बेलायतको बहुराष्ट्रिय तेल तथा ग्यास कम्पनी बीपी, रुससँगको आफ्नो सम्बन्ध टुंगाउने घोषणा गर्ने पहिलो कम्पनी बन्यो । कम्पनीले फेब्रुवरी २७ मै आफ्नो १९.७५ प्रतिशत सेयर रुसी उर्जा कम्पनी रोजनेफ्टलाई बिक्री गर्ने घोषणा गरेको छ ।
त्यसको दोस्रो दिन फेब्रुवरी २८ मा बेलायतकै अर्को बहुराष्ट्रिय तेल तथा ग्यास कम्पनी सेलले पनि रुसको सरकारी कम्पनी गेजप्रोमबाट आफ्नो ज्वाइन्ट भेन्चर टुंगाउने घोषणा गरेको छ ।
यसैगरी अमेरिकी उर्जा कम्पनी एक्जोन मोबिलले पनि मार्च १ मा ४ अर्ब डलरको साखालिन १ अफसोर ओयल तथा ग्यास प्रोजेक्टबाट बाहिरिने घोषणा गर्दै रुसमा आफ्नो नयाँ लगानीलाई समेत बन्द गर्ने बताएको थियो ।
यसबाहेक उड्डयन क्षेत्रबाट पनि अहिले रुसले प्रतिबन्ध खेपिरहेको छ । मार्च १ मा अमेरिकी विमान निर्माण कम्पनी बोइङले रुसी एयरलाइन्सलाई आफ्नो हवाई जहाजको पाटपूर्जा आपूर्ति बन्द गर्ने घोषणा गरेको थियो । साथै उसले मर्मत सम्भारको काम पनि रोक्ने बताएको हो । त्यसको दोस्रो दिन युरोपेली एरोस्पेस कम्पनी एयरबसले पनि सोही नीति लिएको छ ।
यी दुवै कम्पनीले हाल रुसका दुई तिहाइ हवाई विमान निर्माण गर्छ ।
मार्च १ मा अर्को विश्वविख्यात कम्पनी एप्पलले रुसमा आफ्नो प्रोडक्ट बिक्री रोक्ने र एप्पल–पे लगायत अन्य सेवा पनि बन्द गर्ने घोषणा गर्यो । त्यसयता धेरै उपभोग्य वस्तु निर्माता कम्पनीहरुले श्रृंखलाबद्ध रुपमा रुसमाथि प्रतिबन्ध लगाउँदै गए । जसमा अमेरिकाको मोटर ब्रान्ड फोर्ड, जर्मनको फक्सवेगन र बीएमडब्लू, जापानका होन्डा आदि रहेका छन् ।
विश्वको ठूलो फर्निचर ब्रान्ड आईकेईएले पनि मार्च ३ मा रुसमा रहेका सम्पूर्ण स्टोर बन्द गर्नाका साथै बेलारुसको सोर्सिङलाई पनि रोक्ने बताएको थियो ।
यस्तै मनोरञ्जनसँग सम्बन्धित वाल्ट डिज्नी कम्पनीले फेब्रुवरी २८ मा रुसमा प्रदर्शन हुन लागेको मुभी थिएटर बन्द गर्ने घोषणा गर्यो । यस्तै वार्नर स्टुडियोले पनि रुसको मुभी थिएटरमा द ब्याटमेनको प्रदर्शनीलाई रोक्यो भने सोनीले मार्भल एडाप्टेसन मोर्बियसको प्रदर्शन रोको छ ।
साथै नेटफ्लिक्सले पनि रुसस्थित आफ्ना सम्पूर्ण परियोजनाहरु रोकेको छ ।
विश्वको वित्तीय सञ्जाललाई सहजीकरण तथा चलायमान बनाइरहेका भिजा र मास्टरकार्डले समेत रुसलाई २८ फेब्रुवरीबाट प्रतिबन्ध लगाएका छन् । यी कम्पनीहरुले आफ्नो पेमेन्ट नेटवर्कबाट रुसी बैंकहरुलाई ब्लक गरेका छन् ।
यसबाहेक ४ ठूला कम्पनी डेलोईटी, ईवाई, केपीएमजी र पीडब्लुसीले पनि युक्रेनमाथि रुसले गरेको युद्धको भत्र्सना गरेका छन् । यद्यपि यी कम्पनीहरुले भने हालसम्म सेवा सञ्चालनलाई रोकेका भने छैनन् ।