काठमाडौं। ग्रीनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन् । चेक बाउन्सको कसुरमा पक्राउ परेका अग्रवालललाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले शुक्रबार ४५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
निर्धारित समयभित्र धरौटी राख्न नसकेपछि अग्रवाललाई जेल चलान गरिएको हो । यद्यपी अदालतले तोकेको धरौटी रकम बुझाएपछि उनी जेलबाट मुक्त हुनेछन् ।
चेक बाउन्सको उजुरी परेपछि अग्रवाललाई प्रहरीले पक्राउ गरेको थियो। कारोबार बिग्रिएपछि सञ्जय अधिकारी र टंक शम्शेर जबराबाट लिएको सापटी रकम बुझाउन नसकेपछि उनीहरुले चेक बाउन्स गरेको भन्दै उजुरी दिएका थिए।
अग्रवालले सागर डिष्टिलरी र कोभिडका कारण उधारो उठ्न नसकेपछि आर्थिक संकटमा पर्दा ऋण तिर्न नसकेको बताएका थिए । अहिले एभरेष्ट बैंकमा २० करोड ७५ लाख रुपैयाँ ऋण रहेको र त्यसका लागि १८ आना जग्गा ज्ञानेश्वरको र ५ वटा अपार्टमेन्टको फ्लाट गरी २८ करोड रुपैयाँ जतिको पुँजी बैंकमा ऋण रहेको र त्यसका लागि ज्ञानेश्वरको १३ आना जग्गा राखिएको छ, जसको बजार मूल्य १२ करोड रुपैयाँ छ ।
मेगा बैंकमा २० करोड जति ऋण रहेको र १ करोड ५० लाख जति ब्याज रहेको छ । त्यसका लागि कालिमाटीको २२ आना जग्गा, २ वटा अपार्टमेन्टसहित गरेर २३ करोड रुपैयाँ जतिको सम्पत्ति त्यहाँ राखिएको छ ।
यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकमा २८ करोड ५० लाख रुपैयाँ ऋण रहेको र १ करोड ५० लाख जति ब्याज बाकी रहेको छ । त्यसका लागि ३३ करोड जतिको सम्पत्ति धितो राखिएको छ । बैंकको ऋण तिर्न नसकेपछि परिवारसहित सम्पर्कविहीन भएका अग्रवाल एक महिनापछि ऋण मिलाउन सक्ने भन्दै नेपाल फर्किएका थिए।
पत्रकार सम्मेलन गरी सञ्चालक अग्रवालले कोभिडका कारण मदिराजन्य व्यवसाय सकंटमा परेकाले बैंकको ब्याज र किस्ता तिर्न नसक्दा समस्यामा परेको बताउँदै अवको केही समयभित्र सबै ऋण चुक्ता गरिदिने प्रतिबद्धता जनाएका थिए ।