काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको गलत नीतिले अर्थतन्त्र संकटमा परेपछि अर्थसचिव मधुकुमार मरासिनी थप दबाबमा परेका छन् । अर्थमन्त्री शर्माले सल्लाह नै गरी जथाभावी निर्णय गर्न थालेपछि अर्थसचिव मरासिनीले सरुवासमेत मागेको अर्थ मन्त्रालय स्रोत बताउछ । शर्मा अर्थमन्त्री भएपछि अर्थतन्त्रको वाह्य अवस्था झनै खराब बनेको छ ।
प्रतिस्थापन बजेट आएपछि अर्थमन्त्री शर्माले मन्त्रालयका सहसचिवहरु परिवर्तन गरेपछि अर्थसचिव बढी चिन्तित देखिएका उनी निकटका सहकर्मीहरु नै बताउँछन् । अर्थमन्त्री शर्माले जथाभावी सहसचिवहरु हेरफेर गरेपछि अर्थसचिवकोसमेत कार्यसम्पादन राम्रो नदेखिएको बताइएको छ ।
मन्त्रीस्तरीय निर्णय गरेर कुनै पनि मन्त्रीले आफु अनुकुल सहसचिवहरु ल्याउन सक्छ । अर्थमन्त्री शर्माले बजेट महाशाखाका प्रमुख परिवर्तन गरिदिएपछि अर्थसचिव मरासिनी दबाबमा परेको बताइन्छ । बजेट तयारीका बेलामा महाशाखा प्रमुख परिवर्तन गर्दा बजेट निर्माणमा असर गर्ने उनको ठम्याई छ । बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख भुपाल बरालाई राजस्व व्यवस्थापन महाशाखामा तानेर उनको ठाउँमा कर्णाली प्रदेशका आर्थिक मामिला सचिव रहेका चक्रबहादुर बुढालाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी दिएको थियो ।
यसैगरी, आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई परिवर्तन गरे देखिनै अर्थमन्त्रीसँग अर्थसचिव मरासिनी असन्तुष्ट बनेको मन्त्रालय स्रोत बताउँछ । अध्ययन, क्षमता र अनुभवका आधारमा सचिव मरासिनी निकै अब्बल मानिन्छ । तर, त्यो योग्यता र क्षमतानुसार नतिजा नआउँदा उनी निकटका सहकर्मीहरु नै छक्क परेका छन् ।
उनले युरोप, अमेरिका लगायतका मुलुकबाट ६ महिनादेखि १ वर्षसम्मका तालिम लिएका छन् । उनले अष्ट्रेलियन नेसनल युनिभर्सिटी (एआईयू)बाट अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् । निजामति सेवामा पनि उनले अर्थ मन्त्रालयअन्तर्गत नै रहेर करिब २५ वर्ष बिताएका छन् । उनी सचिवमा बढुवा भएसँगै महालेखा नियन्त्रक बनेका थिए । त्यसपछि सरकार परिवर्तन भएपछि उनलाई अर्थसचिवमा अर्थमन्त्री शर्मालेनै ल्याएका हुन् ।
अर्थसचिवका लागि अनुभव र निर्णय गर्ने तौरतरिका जान्न सुरुमा नै अर्थसचिव नहुन उनी निकट कर्मचारीहरुले सुझाव दिएका थिए । केही समय राजस्वसचिव भएर काम गर्नका लागि उनलाई आग्रह गरिएको थियो । राजस्व सचिवमा काम गर्न भने पनि उनले नमानेको मरासिनी निकटस्थ व्यक्तिहरु बताउँछन् ।
पूर्वअर्थसचिव ढुंगानाले पनि राजस्वसचिव भएर १ वर्षभन्दा बढी समय काम गरेपछि मात्रै अर्थसचिव भएका थिए । राजन खनाल अर्थसचिवबाट अवकास प्राप्त गरेपछि उनको ठाउँमा ढुंगाना अर्थसचिव भएका हुन ।
उनी अर्थसचिव भएपछि दुई अर्थमन्त्री पहिले डा.युवराज खतिवडा र त्यसपछि विष्णुप्रसाद पौडेलसँग मिलेर २ वटा बजेट ल्याएका थिए । उनले कोभिड जस्तो कठिन परिस्थितिमा समेत अर्थतन्त्रमा कुनै पनि समस्या आउन नदिने गरी काम गरेको अर्थ मन्त्रालयकै अधिकारीहरु बताउँछन् ।
शर्मा अर्थमन्त्री भएपछि पनि ढुंगानाले केही समय अर्थसचिवको भुमिका रहेर काम गरे । तर, शर्मासँग कुरा नमिलेपछि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका थिए । ढुंगानाले विशेषगरी कोभिड १९ पुनरउत्थानका लागि सुहाँउदो बजेट निर्माण र ट्रेजरी व्यवस्थापनमा निकै ध्यान दिएका थिए । करिब ५४ अर्ब रुपैयाँको ट्रेजरी छोडेर उनी अर्थसचिवबाट विदा भएका थिए ।
तर, अहिले आन्तरिक ऋण तथा वैदेशिक सहायता नै नलिइकन अर्थतन्त्र चलाउन खोज्दा अर्थमन्त्री शर्मा थप समस्यामा परेका हुन । अहिले ट्रेजरीमा ३ अर्ब रुपैयाँ मात्रै मौज्दात रहेको महालेखा नियन्त्रक कार्यालय बताउँछ ।
शर्मालाई असोजमा तरलता सहज भएको समयमा आन्तरिक ऋण उठाउन आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुखले सुझाए पनि राजस्वले धान्ने भन्दै उनी चुपचाप बसेको अर्थ मन्त्रालय स्रोत बताउँछ । बैंकिङ प्रणालीमा तरलताको संकट रहेकाले सरकारले बढी ब्याजमा आन्तरिक ऋण उठाउनु परेको छ ।
अर्थमन्त्री शर्माले ऋण लिएर होइन राजस्व उठाएर अर्थतन्त्र धान्नुपर्छ भनेपछि आन्तरिक ऋण उठाउने योजना पछाडी धक्लिएको हो । तर, असोजपछि अर्थ मन्त्रालयकै दबाबमा नेपाल राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गर्यो । ब्याजदर कम भएकै कारण अधिकांश कर्जा आयातमा केन्द्रित भयो ।
घर जग्गा तथा सेयरमा भएको सम्पत्ति मूल्य प्रभावका कारण विलासी वस्तुको आयात बढ्यो । आयातका कारण उठेको करमा भर परेका अर्थमन्त्री शर्मा विदेशी विनियमको सञ्चितिमा घट्दै गएपछि मात्रै झस्किन पुगे । शोधानान्तस्थित २४१ अर्ब रुपैयाँले ऋणात्मक भएपछि अर्थमन्त्रीले दोष जति सबै अर्थसचिवमा थोपरेको बताइएको छ ।
अर्थमन्त्री शर्माले बढ्दो आयात नियन्त्रणका लागि परिमाणत्मक बन्देज वा कर नीति परिवर्तन गर्नेतर्फ चासो नदेखाएपछि अर्थसचिव मरासिनीले नै गभर्नर महाप्रसाद अधिकारीलाई आयातमा कडाइ गर्न मार्जिनको व्यवस्था गर्ने विषयमा कुराकानी गरेको मन्त्रालय स्रोत बताउँछ ।
अर्थतन्त्र समस्यामा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि अर्थमन्त्रीसँग असन्तुष्ट रहेको बताइएको छ । माओवादीले अर्थ मन्त्रालयको नेतृत्व लिँदा अर्थतन्त्रले अपेक्षाकृत गति लिन नसकेका बेला नेपाली कांग्रेसभित्रै पनि अर्थमन्त्री कांग्रेसले नै राख्नुपर्नेमा जोड दिन थालिएको छ । अर्थतन्त्र जटिल मोडमा पुगेकाले यसलाई समाल्न सक्ने नेतृत्वलाई मन्त्रालयको जिम्मा दिनुपर्नेमा नेताहरुले प्रधानमन्त्री देउवालाई दबाब दिएको बालुवाटार स्रोत बताउँछ ।
यता अर्थसचिव मरासिनी यसमा कुनै सत्यता नभएको बताउछन् । आफु अर्थतन्त्रमा देखिएको समस्याका कारण तनाब (स्ट्रेसम) मा रहे पनि अर्थमन्त्री शर्माले कुनै पनि दबाब नदिएको उनले बताए । ‘अर्थतन्त्रमा समस्या देखिएपछि अर्थसचिव स्ट्रेसमा आउनु स्वभाविक नै हो’, उनले भने ‘तर अन्य कारणले दबाब आएको होइन ।’