मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समाजमा विभेदका घटना रहेसम्म मानव अधिकार हननका घटनाले निरन्तरता पाउने बताएका छन् ।
मानव अधिकार आयोगको आयोजनामा हेटौंडामा शुक्रबारबाट सुरु भएको मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले समाजमा हुने विभिन्न खालका लैङ्गिक विभेदका घटनाहरुको न्यूनिकरण नभएसम्म यस्ता प्रकारका घटनाले निरन्तरता पाउने बताएका हुन् ।
उनले समाजमा हुने पुरुष र महिला बीचको विभेद, जातीय विभेद, धार्मिक तथा साम्प्रदायिक विभेद र रङ्गका आधारमा हुने विभेद, विभिन्न कुरीति कु–संस्कृति तथा परम्परा र छुवाछुतका घटना जारी रहेसम्म मानव अधिकार हनन््का घटना जारी रहने बताए ।
यस्ता घटनाविरुद्ध मानव अधिकारकर्मीहरुले विगतमा पनि विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएको र पछिल्लो समय बोलेकै आधारमा राज्य पक्षबाट मानव अधिकार नै हनन हुने प्रकृतिका घटनामा कमि आएको मुख्यमन्त्री पाण्डेले बताए ।
उनले भने, ‘मानव अधिकार उलङ्घनका घटना विगतको जस्तो छैन । विगतमा बोले कै आधारमा राज्यले कैद सजाय दिने गर्दथ्र्यो । त्यसको उदाहरण म आफै पनि एक हुँ ।’
‘कुनै कारणबस द्वन्द्वको अवस्था आयो र राज्यले बल प्रयोग गरेर गोली चलाउँदा कसैको मृत्य भयो भने हामी सबैको ध्यान राज्यले मानव अधिकार माथि प्रहार गरयो भन्नेमा जान्छ ।
तर, एउटा गाउँमा स्वास्थ्य समस्याबाट सयौं मानिस मर्दा पनि हाम्रा मानव अधिकार रक्षकको ध्यान जाँदैन किन ? यो अवस्था सुधार गर्नुपर्छ । अलि फरक धारणा लिनुपर्छ,’ मुख्यमन्त्री पाण्डेले भने ।
समाजमा भएका कुरितिहरुको विरुद्धमा बोल्नु नै असल मानव अधिकार रक्षकको कर्म भए पनि पछिल्लो समय भोटको राजनीतिका कारण गलतलाई गलत भन्न पनि नसक्ने अवस्थामा पुगेको उनको भनाई छ ।