काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी २ वर्षपछि भारतबाट बिजुली आयात बन्द हुने बताएका छन् । नेपालमा पर्याप्त जलविद्युत उत्पादन भइ सुक्खा याममा पनि बिजुली आयात गर्नुनपर्ने उनले स्पष्टपारे ।
यो वर्ष १ हजार र आगामी वर्ष १ हजार मेगावाटको हाराहारीमा बिजुली थप हुने भएकाले स्वदेशी उत्पादनले आन्तरिक माग धान्ने उनको भनाई छ । बिजुली आयात बन्द भएपछि वर्षाको केही महिना ६० प्रतिशत बढी बिजुली उत्पादन बढी हुने उनले बताए ।
नेपाल इन्जिनियर्स एसोसियसनले चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले वर्षादको बिजुली किन्न भारत सहमत भएको जानकारी दिए ।
अहिले बिजुली उत्पादन जडित क्षमता बढेर २ हजार १०० मेगावाट पुगेको उनले बताए । सुक्खाका कारण उत्पादन आधा घटे पनि माथिल्लो तामाकोसीलगायत अन्य ठूला पिकिङ आयोजनाहरु भएकाले साँझ १ हजार ४०० मेगावाट बिजुली आपूर्ति भइरहेको उनले सुनाए ।
हाल भारतबाट ४०० मेगावाट हारहारीमा बिजुली आयात भएको छ । जाडोमा बिजुलीको माग बढेर १७६८ मेगावाट पुगे पनि अहिले घटेर १५०० मेगावाटमा झरेको घिसिङले जानकारी दिए ।
उनले देशभित्रै बिजुली खपत बढाउने योजना रहेको सुनाउदै सिमेन्ट र स्टिललगायत विभिन्न उद्योगहरुलाई ५०० मेगावाट लोड स्वीकृत गरेको जानकारी दिए ।
उद्योगहरुलाई बिजुली आपूर्ति भरपर्दौ बनाउन १३२ केभी क्षमताको प्रसारण प्रणालीबाट पनि बिजुली दिन थालेको छ । प्राधिकरणले औद्योगिक करिडोरमा थप बिजुली आपूर्ति गर्न प्रसारण लाइन र सवस्टेशन पूर्वाधार विस्तार गरिरहेको छ । माग बढाउन औद्योगिक करिडोरमा पूर्वाधार बनाउनु पर्ने आवश्यकता देखिएको घिसिङको भनाई छ ।
बिजुलीको खपत बढाउन आवश्यक भएको बताउँदै उनले भने भारतमा प्रतिव्यक्ति बिजुली खपत वार्षिक १२०० युनिट पुगेको छ । अहिले नेपालमा ३०० युनिट रहेको छ ।
भारतको हारहारीमा बिजुली खपत बढाउन १५ हजार मेगावाट बिजुली उत्पादन आवश्यक रहेको उनले सुनाए । बिजुलीको माग बढाउन राजधानी काठमाडौंमा प्रसारण लाइन र सवस्टेशन पूर्वाधार निर्माणको काम भइरहेको कुलमानले जानकारी दिए ।