काठमाडौं । वर्तमान सरकारका दुई मन्त्रीबीच खरिदबिक्रीको विषयमा अर्बौंको डिल भएको छ ।
जनमैत्री फाउन्डेसनको नामबाट सञ्चालित जनमैत्री अस्पताल अर्थमन्त्री जनार्दन शर्माले राज्यमन्त्री तथा व्यवसायी उमेश श्रेष्ठलाई १ अर्ब २५ करोड रुपैयाँमा ‘डिल’ गरेका हुन् ।
सन् २००८ मा पूर्वजनमुक्ति सेना र उनीहरूका परिवारलाई सहज रूपमा उपचार गराउने उद्देश्यका साथ सो अस्पताल सञ्चालनमा ल्याइएको थियो । जनमुक्ति सेनाहरूको लगानी रहेको सो अस्पताल अर्थमन्त्री शर्मा, पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वमन्त्री बलदेव खनालले बिक्री गरेका हुन् ।
फाउन्डेसनका तर्फबाट अर्थमन्त्री शर्माले नै राज्यमन्त्री श्रेष्ठसँग डिल गरेका थिए । राज्यमन्त्री श्रेष्ठको समूहमा पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा र उमेश पाण्डे रहेका छन् । पूर्वअर्थमन्त्री खतिवडाले भने आफ्ना छोरा डा. दिपेन्द्र खतिवडाको नाममा सेयर राखेका छन् ।
एक वर्षअघि नै अस्पताल बिक्री गरे पनि हालसम्म सबै कागजात श्रेष्ठको हातमा परिसकेको छैन । अर्थमन्त्री शर्मा समूहसँग फाइनल भए पनि पूर्वजनमुक्ति सेनाहरुले विभिन्न लफडाहरु निकाल्दै आइरहेका छन् । उनीहरुले आफ्नो लगानी रहेको अस्पताल जानकारी नै नदिई सुटुक्क बिक्री गरेको र हिसाबकिताब सार्वजनिक नगरेको भन्दै विरोध गर्दै आएका छन् ।
यद्यपि यस विषयमा राज्यमन्त्री श्रेष्ठले केही कुरा खुलाउन चाहिरहेका छैनन् ।
हाल १०० शय्या सञ्चालित अस्पतालाई स्तारोन्नति गरी २०० शय्याको बनाउने तयारी सो समूहले गरिरहेको छ ।
अर्थमन्त्री शर्माले आफू निकटका जनमुक्ति सेनालाई सहमति गराए पनि अन्य नेताहरुसँग नजिक रहेका जनमुक्ति सेनाहरुले भने विवाद निकाल्दै आएका छन् । अहिले विशेष गरी नेत्रविक्रम चन्द (विप्लव) नजिक रहेका जनमुक्ति सेनाले आफ्नो भाग खोज्दै आएका छन् ।
अर्थमन्त्री शर्मासँग अस्पताल खरिद गरी स्तरोन्नतिका लागि तयारी भइरहेको सञ्चालक पाण्डेले जानकारी दिए ।
तर, कति लगानी थप गर्ने भन्ने विषयमा भने खुलाउन चाहेनन् ।
राज्यमन्त्री श्रेष्ठले अस्पताल खरिद बापतको सबै पैसा अर्थमन्त्री शर्मालाई दिइसकेका छन् । तथापि डकुमेन्ट हातमा नपरेका कारण उनी अहिले तनावमा छन् ।
विभिन्न समूहबाट पैसा माग्न थालेपछि क–कसलाई पैसा दिने भन्ने समस्यामा उनी परेको स्रोतको दाबी छ । यता पूर्वजनमुक्ति सेनाले पनि आफूहरुको ठूलो लगानी अस्पतालमा रहेको बताउँदै सीमित व्यक्तिलाई मात्रै पैसा दिएर समस्या समाधान नहुने भन्दै आन्दोलनको चेतावनीसमेत दिँदै आइरहेका छन् ।
अस्पतालसँगै बालाजुको ठेगानामा जनमैत्री फाउन्डेसन इन्स्टिच्युट अफ हेल्थ साइन्स खोलिएको छ । तर, पठनपाठनचाहिँ ललितपुरको हात्तीवनस्थित लिटिल एन्जेल्स कलेजको हातामा हुँदै आएको छ । श्रेष्ठले अस्पतालभन्दा पनि कलेजमा आँखा लगाएकाले विवादित अस्पताल खरिद गरेको आरोप जनमुक्ति सेनाले लगाउँदै आएका छन् ।
बालाजु औद्योगिक क्षेत्रभित्र तत्कालीन कपडा उद्योगको ४ रोपनी क्षेत्रफलमा सुविधासम्पन्न अस्पताल छ । साथै यसको नाममा नागार्जुनसँगैको मुड्खुमा पनि ९० रोपनी सरकारी जग्गा ९९ वर्षका लागि लिजमा लिइसकेको छ । लामो समयदेखि बन्द रहेको सो अस्पताललाई सरकारले कोभिड–१९ विशेष अस्पताल बनाएर सञ्चालनमा ल्याएको छ ।
अस्पताल किन्ने राज्यमन्त्री श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् । उनी लिटिल एन्जल्स एजुकेसन ग्रुपको अध्यक्ष र सोही स्कुलका संस्थापक प्रिन्सिपलसमेत हुन् ।