काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्वजानकारी नै नदिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्दा उडान प्रभावित भएका छन् ।
प्राधिकरणले बिहीबार गरेको क्यालिब्रेसन फ्लाटका कारण उडान अवरुद्ध हुँदा विमानस्थलमा पुगेका हजारौं यात्रुहरु अलपत्र परेका हुन् ।
विभिन्न गन्तव्यमा जान विमानस्थलमा पुगेका यात्रुहरु उडान ‘डिले’ भएपछि एयरलाइन्सका कर्मचारीहरुसँग झगडासमेत गर्न थालेका छन् ।
एयरलाइन्सहरुलाई क्यालिब्रेसन फ्लाइटको जानकारी नदिएकै कारण बिहीबार विभिन्न गन्तव्यका लागि टिकट काटेका थिए । यात्रुहरुले पनि आफूहरुले टिकट काटेको तर उडान नभएको भन्दै एयरलाइन्सका कर्मचारीहरुसँग बाझाबाझ गरेका छन् ।
यस्तो स्थितिमा एयरलाइन्सहरुले पनि आफूहरुलाई प्राधिकरणले जानकारी नगराएका कारण टिकट बिक्री गरेको बताउँदै अर्को उडानसम्म पर्खिन अनुरोध गरिरहेका छन् ।
अहिले विभिन्न एयरलाइन्सले बिहीबारको उडान रद्ध गर्न थालेका छन् । प्राधिकरणले साढे २ घण्टाका लागि नोटाम जारी गरेका कारण अन्तर्राष्ट्रिय एयरलाइन्सहरु पनि आकाशमै होल्ड गर्न बाध्य भएका छन् ।
पिक आवरमा प्राधिकरणले गरेको क्यालिब्रेसन फ्लाइटले सम्पूर्ण उडानहरु अस्तव्यस्त भएको एक एयरलाइन्सका प्रतिनिधिले जानकारी दिए ।
अहिले कतार एयरवेजका दुइटा जहाज र भिस्तारा एयरलाइन्स आकाशमै होल्ड गरिरहेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको एरो थाईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि परीक्षण उडान गरिरहेको छ ।