काठाडौं । मेलम्ची खानेपानी आयोजनामा ढुंगा फुटाउने काम ७५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाका सिनियर डिभिजन इन्जिनियर पदम कुँवरका अनुसार अस्थायी रुपमा पुनर्निर्माण सुरु भएको एक महिनामा ढुंगा फुटाउने काम ७५ प्रतिशत सम्पन्न भएको हो ।
पुनर्निर्माण कार्यमा सिनो हाइड्रोपावरसँगै नेपाली सेनाको टोली संलग्न छ । ४ वटा मेसिनसहित सेना र मजदुरले आयोजना स्थलमा पुनर्निर्माणको काम गरिरहेका छन् ।
हालसम्म ३०० भन्दा बढी ढुंगा फुटाइसकेकाले करिब १ हप्तामा आयोजना क्षेत्रमा देखिएका ठूला ढुंगा फुटाउने काम सम्पन्न हुने सीडीई कुँवरको भनाइ छ ।
‘धेरै ढुंगा फुटाइसकेका छौं’ उनले भने, ‘अब १ हप्तामा यो काम सकिन्छ होला ।’
उनका अनुसार अम्बाथान अडिटमा करिब २० मिटर खनिएको छ । यद्यपि अम्बाथानमा अझै कति खन्नुपर्छ भन्ने कुरा थाहा नभएको आयोजनाले जनाएको छ ।
हालसम्म अम्बाथानमा कुनै संरचना भेटिएको छैन ।
त्यस्तै ९ नम्बर गेटमा २०/२२ मिटर खन्नुपर्नेमा हालसम्म करिब १८ मिटर खनिसकेको कुँवर बताउँछन् । १ नम्बर गेटमा पनि १२ मिटर खनिसकेको आयोजनाले जनाएको छ । अब ३ मिटर खनेपछि १ नम्बर गेटमा सम्पूर्ण संरचना भेटिने बताइएको छ ।
गत असार–साउनमा मेलम्ची खोलामा बाढी आएपछि नेपाली सेनालगायत सरोकारवाला निकायले आवश्यक सहयोग गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार अहिले नेपाली सेनाका जवान परिचालन भएका छन् ।
यसअघि हेडवक्स निर्माण गरेको सिनो हाइड्रो एक्लैले पुनर्निर्माण सुरु गरेको थियो । तर, आयोजना स्थलमा ठुल्ठूला ढुंगा पन्साउन नसकेपछि सेनाको सहयोग मागिएको हो ।
नेपाली सेनाले आयोजना स्थलमा देखिएका ठूला ढुंगा फुटाएर मात्रै फर्किने सहमति गरेको छ ।
मेलम्चीको पानी काठमाडौं ल्याउन आयोजनाको १ र ९ नम्बर गेट तथा अम्बाथान अडिट सफा गर्ने कार्यविधि तयार भएको थियो । सोहीअनुसार माघको दोस्रो साताबाट मेलम्चीमा अस्थायी रुपमा पुनर्निर्माण कार्य सुरु भएको हो ।