रुस–युक्रेनबीच युद्ध जारी छ । यसलाई लिएर तर्क–वितर्क, अनुमान हुन थालेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विश्वका थुप्रै देशहरुको आक्रोश बढिरहेको छ । हमला गर्ने निर्णय गलत भएको भन्दै अमेरिकासहितका थुप्रै देशले आर्थिक प्रतिबन्ध लगाएका छन् । फरेन रिजर्भमा रोक लागेको छ भने देशका ठुल्ठूला बैंकहरुको हालत खराब भइसकेको छ ।
यति मात्रै होइन, एप्पल र नाइकीजस्ता दिग्गज कम्पनीहरुले रुसमा आफ्ना उत्पादनहरुको बिक्रीमा रोक लगाएका छन् । यस्तै युरोपियन युनियन (ईयू) ले ७ रुसी बैंकलाई स्विफ्टबाहिर गर्दै ठूलो झड्का दिएको छ ।
स्विफ्टबाट बाहिरिँदाको असर
एउटा रिपोर्टका अनुसार सबभन्दा ठूलो प्रतिबन्ध भनेको रुसको अर्थतन्त्रलाई स्विफ्टबाट भिन्दै राख्नु हो । स्विफ्ट अन्तर्राष्ट्रिय वित्तीय लेनदेनसँग सम्बन्धित सिस्टम हो । यसमा विश्वका २०० देशका ११ हजारभन्दा बढी वित्तीय संस्थाहरु जोडिउका छन् । यस संस्थाबाट बाहिरिँदा कस्तो असर पर्छ भन्ने राम्रो उदाहरण इरानलाई लिन सकिन्छ ।
सन् २०२१ मा स्विफ्टले अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण इरानका बैंकहरुलाई बाइकट गरेको थियो । यसबाट इरानको तेल निर्यातमा आधारित राजस्व आधाभन्दा पनि कम भएको थियो । र, अहिले त्यही हालत रुसको हुने अनुमान गरिएको छ ।
एप्पलको कदम
लगातार प्रतिबन्ध झेलिरहेको रुसलाई युक्रेन–युद्ध भारी परेको छ । अमेरिकी टेक कम्पनी एप्पलले रुसमा आफ्ना उत्पादन बिक्रीमा रोक लगाएको छ । साथै, अन्य सेवालाई पनि सीमित गरिदिएको छ । कम्पनीका अनुसार आफू हिंसा पीडितहरुको पक्षमा छ । सोही कारण, १४.५ करोड जनसंख्या रहेको देशमा एप्पलले आफ्नो सेवा तत्कालका लागि बन्द गरेको छ ।
नाइकीको घोषणा
एप्पलसँगै एथलेटिक वेयर निर्माता नाइकीले पनि रुसमा आफ्नो उत्पादन बेच्न रोक लगाउने घोषणा गरेको छ । विश्वका यी २ ठूला कम्पनीहरुले उठाएको कदमलाई रुसका लागि एउटा ठूलो झड्का मानिएको छ ।
प्रतिबन्धको असर देखिन समय लाग्ने
युक्रेनमाथि रुसले आत्मघाती हमला सुरु गरेपछि अमेरिका, बेलायत, अस्ट्रेलिया, जापानसहित थुप्रै देशहरूले रुसमा आर्थिक प्रतिबन्ध लगाएका छन् । अमेरिकाले रुसी राष्ट्रपति पुटिन तथा विदेशमन्त्री सर्गेइको यात्रामा समेत प्रतिबन्ध लगाएको छ ।
पश्चिमा देशले रुसको आक्रामकताको जवाफ दिनका लागि यी र यस्ता खालका प्रतिबन्धलाई सबभन्दा बढी उपयोगी मानिरहेका छन् । यद्यपि यी प्रतिबन्धहरुको असर तत्काल देखिने छैन । तर, कालान्तरमा यसको प्रभाव नराम्रोसँग देखिने निश्चितप्रायः छ ।
बैंकमाथि प्रतिबन्ध
अन्तर्राष्ट्रि समुदायले रुसमाथि एकतर्फी तथा सामूहिक रुपले कैयौं आर्थिक एवम् राजनीतिक प्रतिबन्ध लागू गरेका छन् । अमेरिका र बेलायतले त रुसका ५ ठूला बैंक स्बेर बैंक, भीटीबी बैंक, नोभिकोम बैंक, प्रम्स्भ्याज बैंक, ओट्क्रिटी बैंकमाथि प्रतिबन्ध लगाएका छन् । यस्तै क्यानाडा र अस्ट्रेलियाले पनि अमेरिकासँग यस काममा हात मिलाएका छन् ।
जर्मनीले नर्ड स्ट्रिम २ ग्यास पाइपलाइन परियोजना रोक्ने संकेत दिएको छ । यसबाहेक पोल्यान्ड, चेक रिपब्लिक, बुल्गेरियाले रुसी उड्ययन कम्पनीका लागि हवाई क्षेत्र बन्द गरेका छन् ।
प्रतिबन्धको प्रभाव बजारमा
युक्रेनमाथिको हमलापछि पश्चिमा देशहरुले लगाएको प्रतिबन्धको असर तत्काल रुसी सेयर बजारमा देखिन थालेको छ । त्यहाँको सेयर बजारमा नराम्रोसँग ओरालो लागेको छ । साथै रुसी मुद्राको पनि अवमूल्यन हुन थालेको छ । गत सोमबार मात्रै ३० प्रतिशतभन्दा बढी रुसी मुद्रा अवमूल्यन भएको थियो । युद्धले निम्त्याएको यस्तो उथलपुथलको प्रभाव देशका अर्बपतिहरुमा परेको छ । अमेरिकी डलरको तुलनामा रुसी मुद्रा ११७ डलरभन्दा तल झरेको छ ।
डिजिटल भुक्तानी सेवा पनि प्रतिबन्धित
अमेरिकाद्वारा रुसमा वित्तीय प्रतिबन्धपछि रुसी ग्राहकहरुलाई एप्पल–पे, गुगल–पे सेवा प्रयोग गर्नबाट वञ्चित भएका छन् । यति मात्रै होइन, त्यहाँस्थित केही बैंकका ग्राहकले भनेअनुसार डिजिटल पेमेन्टका साथसाथै आफ्ना बैंक कार्डसमेत प्रयोग गर्न पाइरहेका छैनन् । यसबारे सेन्ट्रल बैंक अफ रसियाका अनुसार जुन बैंकलाई प्रतिबन्ध लगाइएको छ, तिनका ग्राहकले विदेशमा कार्डमार्फत पेमेन्ट गर्न पाउँदैनन् ।
अर्बपतिहरुको हालत खराब
एक रिपोर्टका अनुसार गत फेब्रअरी १६ पछि रुस–युक्रेन युद्धका कारण देशका ११६ अर्बपतिहरुलाई १२६ अर्ब डलरभन्दा बढी घाटा लागेको छ । यदि यो युद्ध अझै लम्बिइरह्यो भने अर्बपतिहरुको सम्पत्तिमा अझै तीव्र गिरावट आउने अनुमान गरिएको छ ।
–एजेन्सीको सहयोगमा ।