काठमाडौं । नोबेल अस्पताल काठमाडौंको व्यवस्थापनमा पुरानो बानेश्वरमा फ्रन्टलाइन अस्पताल सञ्चालनमा आउने भएको छ । अबको १ महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको अस्पताल सञ्चालक समितिका अध्यक्ष नवराज पाण्डेले जानकारी दिए ।
२०५३ सालदेखि मेडिकल क्षेत्रमा सक्रिय पाण्डेसहित ५ जनाको समूहले ४ अर्ब रुपैयाँ लगानीमा सो अस्पताल निर्माण गरेको हो ।यस्तै सोही समूहले काठमाडौंको सिनामंगलमा नोबेल अस्पताल पनि सञ्चालन गरिरहेको छ । फ्रन्टलाइन अस्पताल पनि नोबेल अस्पतालकै व्यवस्थापनमा सञ्चालनमा आउने अध्यक्ष पाण्डेले जानकारी दिए ।
८ रोपनी क्षेत्रफलमा फैलिएको सो अस्पतालको भवनको क्षेत्रफल साढे ५ रोपनी छ । सम्पन्न सुविधासहित गुणस्तरीय सेवा दिने उद्देश्यका साथ निर्माण गरिएको अस्पताल २०० शैयाको हुनेछ । जसमा आईसीयूअन्तर्गत ३० बेड हुनेछन् । यस्तै हेलिकप्टरबाट इमर्जेन्सी रेस्क्युसहितको सुविधा पनि हुने गरी पूर्वाधार निर्माण गरिएको छ ।
ट्रमाका लागि फोकस गरिएको उक्त अस्पतालमा एक साताभित्र सबै उपकरणहरु जडान भइसक्ने र १ महिना भित्रमा सञ्चालनमा ल्याइसक्ने आन्तरिक तयारी छ ।
अस्पतालको नेतृत्व भने वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेले गरेका छन् । पाण्डे अस्पतालका चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेजका रुपमा नियुक्त भएको अध्यक्ष पाण्डेले जानकारी दिए ।
चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेजका रुपमा नियुक्त भएका डा. पाण्डे ग्रान्डी अस्पतालका परिकल्पनाकारसमेत हुन् । उनले केही समयअघि मात्र ग्रान्डी अस्पतालको मेडिकल निर्देशकबाट राजीनामा दिएका थिए ।
अस्पतालमा अर्थोपेडिक्स, जनरल सर्जरी, न्युरो सर्जरी, गाइनो, पेडियाट्रिक्स, डर्माटोलोजी, कार्डियाक, इन्डोक्राइनोलोजी लगायतका २६ वटा विभाग हुने जनाएको छ ।
अस्पतालका क्लिनिकल सर्भिसेज डा. पाण्डेले आफूहरुको मुख्य फोकस भने बजेट ट्रमा केयरमा हुने बताए । यो केयरमा जतिखेर पनि शल्यक्रिया हुने, जनरल वार्डमा राखेर उच्च टेक्नोलोजीबाट उपचार हुने उनको भनाइ छ । अस्पतालका ४ वटा शल्यक्रिया कक्षमध्ये ४ वटा तयार भइसकेका छन् । बाँकी कक्ष दुईदेखि तीन हप्ताभित्र तयार हुनेछ ।