काठमाडौ । मौद्रिक नीति समीक्षापछि पनि ‘साइडवेज’ मा गएको सेयर बजारले घट्दो ट्रेन्डलाई नै समाउने देखिएको छ । बुधबार सुरुदेखि घट्दो क्रममा रहेको सूचक झन्झन् पछि झन् रफ्तारमा घट्ने प्रवृत्ति देखायो ।
खास गरी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, साथमा ऋण लिएकाहरूलाई बढ्दो ब्याजदरको भार थपिनु, रुस र युक्रेन युद्धले अन्तर्राष्ट्रिय रूपमै देखिएको मूल्य वृद्धिको चाप र घरजग्गा तथा सेयर बजारमा गएको कर्जाको ब्याजदर जति नै पुगे आफूहरूलाई सरोकार नहुने केन्द्रीय बैंकका अधिकारीहरूको अनौपचारिक धारणाले नेप्सेलाई थप दबाबमा राख्न सफल भएको छ ।
यसले साना लगानीकर्ताहररू आत्तिन पुगेका छन् । उनीहरूले आफ्नो घरयसी परियोजनका लागि उपयुक्त वित्तीय स्रोत नहुँदा घट्दो मूल्यमा पनि सेयर बेच्ने र कतिपयको अहिले नै बेच्दा केही हदसम्म राहत हुने र पछि झन् घटेका बेला किन्न पाइने मनोभावले बजारलाई पेनिक बनाएको छ ।
जसको असर सेयर बजार सूचक (नेप्से) २५०० को बिन्दु सहजै समाउने देखिएको छ । २५०० बिन्दु छाडेर बजार तल लागेमा भने सूचकले २२०० को बिन्दुलाई पुनः पच्छ्याउने देखिन्छ । कम्तीमा एकपटक छोएको बिन्दु दोस्रो/तेस्रोपटक नछोइकन सहजै बजार फर्किने गरेको विगतमा नदेखिएकाले पनि यो वा त्यो कारणले बजार घट्ने ट्रेन्डलाई फलो गर्ने देखाउँछ ।
कथमकदाचित् २५०० बिन्दुबाटै बजार फर्कियो भने पनि केही दिनमै बजार ओरालै लाग्ने हो । नजिकिँदो निर्वाचन र एमसीसीको प्रभाव देखिने आँकलन भए पनि बिग्रँदो अर्थतन्त्र र अन्तर्राष्ट्रिय घटना क्रमले नेपालमा महँगी अचाक्ली बढेको छ । केन्द्रीय बैंकको तथ्यांकले महँगीको दर न्यून रहेको देखाए पनि जनताको भाग भान्सा भने छुनै नसक्ने गरी महँगिएको छ ।
भान्सामा प्रयोग हुने अत्यावश्यक वस्तुहरूको मूल्य गत वर्षकै तुलना गर्ने हो भने पनि ५० प्रतिशत माथि चढिसकेको छ । मानिसहरुको आम्दानी नबढ्ने तर मूल्य वृद्धिले दैनिक जीवन गुजार गर्न अप्ठयारो हुने भएपछि छरिएर रहेका लगानीकर्ताले १०/२० कित्ता सेयर पनि बेच्न थालेका छन् । जसले बजारलाई नियन्त्रण बाहिर धकेलिरहेको छ ।
बुधबार ६३.९८ अंकले सेयर बजार घट्दा ऋणपत्र तथा सामूहिक लगानीकोषबाहेक १८८ कम्पनीको मूल्यमा गिरावट आएको छ । तर, कुनै पनि कम्पनीको मूल्य ऋणात्मक सर्किट लागेको छैन । सबैभन्दा बढी मूल्य घट्ने कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्स ८.२६ प्रतिशत छ ।
घटेको बजारमा पनि ऋणपत्र र म्युचुअल फन्डबाहेक ३ कम्पनीको मूल्य बढेकोमा सबैभन्दा बढी रिलाइन्स लाइफको ४ प्रतिशतले मूल्य बढेको छ । उता कारोबार रकम भने सोमबारकै हाराहारीमा भएको छ ।
सोमबार ३ अर्ब ६४ करोडको सेयर किनबेच भएकोमा बुधबार भने ३ अर्ब ६२ करोडको सेयर खरिदबिक्री भएको छ । बुधबारको कारोबार प्रवृत्ति लगानीकर्ताको मनोभाव र समग्र अर्थतन्त्रका खुम्चिएका अवयवहरूले बजारलाई थप तल जान मद्दत गर्नेछ ।