काठमाडौं । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने परियोजनामा नेपाल टेलिकमले प्रगति गर्न सकेको छैन । चालू आर्थिक वर्ष २०७८/२०७९ को ६ महिनामा नेपाल टेलिकमले प्रदेश नम्बर १, मधेस र बागमती प्रदेशको पहिलो प्याकेजमा ७.०७ प्रतिशत मात्र काम गरेको छ ।
अप्टिकल फाइबर बिछ्याउने सम्झौता गरेको ५ वर्ष बितिसक्दा सिंगो परियोजनाको पहिलो प्याकेजमा चालू आर्थिक वर्षको माघ मसान्तसम्म ५३.२३ प्रतिशत मात्र काम भएको छ । २०७३ साल भदौ महिनामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र टेलिकमका तत्कालीन एमडी कामिनी राजभण्डारीबीच २ वर्षमा परियोजना सम्पन्न गर्ने सम्झौता भएको थियो ।
परियोजनाअन्तर्गत टेलिकमले प्रदेश नम्बर १, मधेस र बागमतीका लागि पाँचथरको चिरूभञ्जाङदेखि गोरखाको आरूघाटसम्म २१ सय ७९ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्ने सम्झौता भएको थियो ।
तर, ५ वर्ष बितिसक्दा कम्पनीले उक्त साइटमा हालसम्म ११ सय ६० किलोमिटर मात्र अप्टिकल फाइबर बिछ्याएको छ ।
यसमा पनि चालू आर्थिक वर्षको ६ महिनामा त कम्पनीले १ सय ५४ किलोमिटर मात्र अप्टिकल फाइबर बिछ्याएको छ । कम्पनीले यो अवधिमा २८ वटा डीडब्लूडीएम सिस्टममा २७ र ४८ वटा कोर राउटर इक्युपमेन्टमा ४७ ओटा उपकरण इन्स्टल गरेको छ ।
यसबाहेक कर्णाली र सुदूरपश्चिमको मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने ८ अर्बको ठेक्का काममा हालसम्म प्रगति शून्य देखिएको छ । स्मार्ट टेलिकमको ठेक्का रद्द गरी प्राधिकरणले २ वर्षअघि टेलिकमलाई उक्त प्याकेजको ठेक्का प्रदान गरेको थियो । जसमा टेलिकमले १९ सय ९२ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनु पर्नेछ । तर, टेलिकमले हालसम्म सो प्याकेजमा काम सुरु गर्न नै सकेको छैन ।
यसै गरी गण्डकी र लुम्बिनी प्रदेशको प्याकेज भने ठेक्कावाला कम्पनी यूटीएल अदालतमा गएका कारण विचाराधीन अवस्थामा छ । हालसम्म यी दुई प्याकेजको प्रगति अवस्था शून्य छ ।
१८ प्याकेजको ब्रोडब्यान्ड इन्टरनेट
यसै गरी प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्यान्ड सेवा उपलब्ध गराउन विभिन्न १८ प्याकेजमा सुरु गरेको परियोजना सम्पन्न हुने चरणमा पुगेको छ ।
उक्त परियोजनाअन्तर्गत ९९.३५ प्रतिशत काम सम्पन्न भइसकेको छ । जसमा १६ हजार ४८ साइटमध्ये १५ हजार ९ सय ४३ साइटको काम सम्पन्न भइसकेको र १०५ साइटको काम बाँकी नै छ ।