काठमाडौं । रसियाले युक्रेनमाथि आक्रमण गरेपछि विश्वबजारमा कोइला, आल्मुनियम तथा स्टिलको मूल्य हालसम्मकै उच्च (अलटाइम हाई) विन्दुमा पुगेको छ ।
सिमेन्टको प्रमुख कच्चा पदार्थको रुपमा प्रयोग हुने कोइलाको मूल्य अहिलेसम्मकै उच्च प्रतिटन ३ सय ३० डलर पुगेको छ । विश्व बजारमा कोइलाको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो ।
दुई देशभित्र भएको द्वन्द्वले कोइला, आल्मुनियम तथा स्टिलको मूल्य उच्च वृद्धि भएको र यसको असर नेपालको उद्योगमा पनि पर्ने देखिएको छ । कोइलाको मूल्य वृद्धिले नेपालमा भएका उद्योगको उत्पादन लागत बढाउने उद्योगीहरुले बताउन थालेका छन् ।
सिमेन्ट बनाउन कोइलाको प्रयोग हुन्छ । यसरी कोइलाको मूल्य आकासिँदा सिमेन्ट बोरामै १३० रुपैयाँसम्म बढ्न सक्ने उत्पादकहरुले बताएका छन् ।
त्यसैगरी, रडको मूल्यमा पनि उच्च वृद्धि हुने अनुमान गरिएको छ । आल्मुनियको मूल्य प्रतिकिलो ३ डलर ३८ सेन्ट पुगेको छ । आल्मुनियम ढोका, झ्यालका साथै घर निर्माणमा प्रयोग हुन्छ । नेपालमा पनि यी वस्तुको भाउ बढ्ने संभावना देखिएको छ ।
यसअघि भदौमा पनि कोइलाको मूल्य उच्च गतिमा बढेर प्रतिटन २७५ डलरसम्म पुगेको थियो । तर, त्यसपछि विस्तारै घट्दै १२५ डलरसम्म आइपुगेको थियो ।
अहिले प्रत्येक दिन २५ प्रतिशतका दरले कोइलाको मूल्य बढेको स्वदेशी सिमेन्ट उत्पादकहरु बताउँछन् । कोइलाको मूल्य आकासिँदा त्यसको असर सिमेन्टमा पर्न सक्ने देखिन्छ ।
अहिले बजारमा ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ७५० रुपैयाँमा बिक्री भइरहेको छ । कोइलाको भाउका कारण सिमेन्टको मूल्य प्रतिबोरा १३० रुपैयाँसम्म वृद्धि हुने उद्योगीको अनुमान छ । त्यसैगरी, आल्मुनियमका उत्पादनमा पनि भारी मूल्य वृद्धि हुने देखिएको छ ।