काठमाडौं । आकर्षक लुक्स र सस्तो मूल्यका कारण एमजीको विद्युतीय कारले बजारमा आफ्नो साम्राज्य खडा गरेको छ । सन् २०२१ मा बिक्री भएका विद्युतीय कारमध्ये एमजी एक्लैको ५८ प्रतिशत बजार हिस्सा हुनुले यो क्षेत्रमा उसको वर्चश्व छ भन्ने पुष्टि भएको हो ।
अन्य ब्रान्डका विद्युतीय गाडीको तुलनामा एमजी सुविधायुक्त र सस्तो छ । सोही कारण विद्युतीय गाडी किन्नेको पहिलो रोजाइमा एमजी परेको कम्पनीको दाबी छ । एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सका अनुसार गाडी दिन नसकेपछि बाध्य भएर ग्राहकहरु अन्य कम्पनीका गाडी किन्न बाध्य छन् ।
‘कम्पनीले जुन रेन्जको गाडी भित्र्यायो, त्यो एकदमै लक्जरियस र आकर्षक लुक्स छ’, पारामाउन्ट मोटर्सका सञ्चालक शिरिष मुरारका भन्छन्, ‘नेपालीको क्रयशक्तिभित्रै एमजीको गाडीमूल्य रहेकाले र सरकारले पनि विद्युतीय कारलाई लिने भन्सार घटाएकाले यो सम्भव भएको हो ।’
एमजीले ५८ प्रतिशत बजार हिस्सा ओगट्दा दोस्रो स्थानमा रहेको टाटाको ग्याप ठूलो छ । यद्यपि, टाटाले बिस्तारै आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । टाटाभन्दा धेरै पहिलेदेखि एमजीले विद्युतीय गाडी नेपालमा बेच्न सुरु गरेको थियो । टाटाले गत वर्षबाट मात्रै विद्युतीय गाडी बेच्न थालेको हो । छोटो अवधिमै टाटाले दोस्रो स्थान ओगट्न सफल भएको तथ्यांकबाट देखिन्छ ।
उपलब्ध तथ्यांकअनुसार सन् २०२१ मा एमजीका ६०० थान विद्युतीय गाडी बिक्री भएका छन् । यसको बजार हिस्सा ५८ प्रतिशत छ । दोस्रो स्थानमा रहेको टाटाले सन् २०२१ मा १९१ वटा गाडी बिक्री गर्न सफल भएको छ ।
नेपालमा विल्ड योर ड्रिम (बीवाईडी) भन्दा पछि विद्युतीय गाडी बेच्न सुरु गरेको हुन्डाईको विद्युतीय गाडीको बजार हिस्सा बढ्दो छ । हुण्डाईले नेपालमा सन् २०२१ मा जम्मा ८२ वटा मात्रै गाडी बेचेको तथ्यांकमा देखिन्छ । यो भनेको ७.२१ प्रतिशत मात्रै बजार हिस्सा हो ।
नेपालमा पहिलोपटक विद्युतीय गाडी बेच्न सुरु गरेको बीवाईडी बजारहिस्सा ५.३६ प्रतिशत मात्रै छ । यो कम्पनीका गाडी पनि गत वर्षमा जम्मा ६१ वटा मात्रै बिक्री भएका छन् ।
सन् २०२१ मा कियाले ४५, अन्यले ४१, निसानले २८, टेस्ला १६, महिन्द्रा १४ थान गरेर वर्षभरमा १ हजार १ सय ३८ थान विद्युतीय गाडी बिक्री भएका छन् ।
सरकारले विद्युतीय गाडीको बिक्रीलाई बढाउन राजस्व नीतिमा फेरबदल गरेका कारण बिस्तारै यसको बजारहिस्सा उकालोतर्फ लागेको छ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीमा चर्को कर लगाएपछि विद्युतीय गाडीको व्यापार नराम्ररी घटेको थियो ।
त्यस बेला उनीसहित सरकारकै आलोचना भएको थियो । पछि विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएर आएपछि खतिवडाले लगाएको करलाई बीचमै परिवर्तन गरेपछि पुनः यसले बजार लिन थालेको हो ।
गाडी आयातकर्ताका अनुसार सरकारले विद्युतीय गाडीलाई राजस्वमार्फत प्रोत्साहन गर्नेबित्तिकै अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबाब कम गर्न सकिन्छ । सरकारले अहिले पनि ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात गरिरहेको छ । त्यसमा सरकारको ठूलो रकम बाहिरिँदा विदेशी मुद्रा सञ्चितिमा ठूलो दबाब परिरहेको छ ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनामा मात्रै नेपालमा १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको देखिन्छ ।
यदि यो दरलाई घटाउँदै लैजाने हो भने विद्युतीय गाडीमा अझै कर घटाउने र नेपालकै विद्युत् खपत बढाउन नीति राज्यले अख्तियार गर्नुपर्ने नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष ध्रुव थापा बताउँछन् ।